पाल्पा – पाल्पा जिल्लाको रैनादेवि छहरा गाउँपालिका–३ मा आगलागीमा परी गएराती एक पुरुषले ज्यान गुमाएका छन् । मँगलबार रातको करिब साढे दश बजेको समयमा आफू सुत्ने घरको कोठामा एक्कासी आगलागी भएपछि उनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
रैनादेवि छहरा गाउँपालिका–३ ढुकुर खोला बस्ने ५९ वर्षीय हरिबहादुर कुमालको जलेर मृत्यु भएको हो । टिनको छाना भएको आफ्नै ३ तले घरको दोस्रो तलामा सुतिरहेका उनी आगलागिमा परेका हुन् । उनी सुत्ने कोठामा एक्कासी कसरी आगो लाग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना थाहा पाएलगत्तै उनको परिवार र छिमेकीले राती साढे १२ बजेसम्ममा आगो नियन्त्रणमा लिएका थिए । मृतकका २ छोराहरु बुटवल बस्दै आएका छन् । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।













