सुमित्रा कंडेल,पाल्पा-
तानसेन टुँडिखेलमा छैठौ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८१ सुरु भएको छ । तिन दिनसम्म चल्ने प्रतियोगिताको उद्घाटन गर्दै सघिंय सांसद ठाकुर प्रशाद गैरेले स्थानीय तहको कार्यहरुलाई गतिशील बनाउन खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदिले पछिल्लो समय स्थानीय तहमा खेलकुदका गतिविधि बढ्नु आफैमा राम्रो काम भएको बताउनुभयो ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले खेलकुदले शारीरिक तथा मानसिक रुपमा सक्षम बनाउने भएकोले यस क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने बताउनुभयो । उहाँले विद्यार्थी खेलाडीलाई प्रतिस्पर्धा स्वच्छ र लगनशील भएर सफलता हात पार्न शुभकामना समेत व्यक्त गर्नुभयो ।
नगर उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले खेलकुदले स्थानीयस्तरमा सक्षम जनशक्ति उत्पादनमा सहयोग गर्ने भएकोले खेल क्षेत्रको विकासका लागि नगरपालिकाले प्राथमिकतामा राखेर काम गरीरहेको बताउनुभयो ।
पत्रकार महासंघका अध्यक्ष कमलराज तिमिल्सेनाले खेलकुदबाटै भविष्य सुनिश्चित हुने वातावरण निर्माण गरेर खेलाडीलाई प्रोत्साहनका कार्यक्रम स्थानीय सरकारले सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
उद्घाटन कार्यक्रममा नगर प्रमुख सन्तोषलाल श्रेष्ठले विद्यार्थीमा शिक्षासँगै अतिरिक्त क्रियाकलापले विद्यार्थीको चौतर्फी विकासका लागि सहयोग पुग्ने बताउनुभयो ।
प्रतियोगितामा संस्थागत र सामुदायिक गरी २६ विद्यालयका १२ सय ५० विद्यार्थीले भाग लिएका छन् । विभिन्न ४ वटा मुल विद्या अर्न्तगत छात्राछात्र गरि ४३ वटा इभेन्टमा ३ सय ८० मेडलका लागि एथलेटिक्स, कराँते, तेक्वान्दो, भलिबल र कवड्डीलगायतका खेल खेलाइने आयोजकले जनाएको छ ।
प्रतियोगितामा १८ वर्षसम्मका खेलाडीले भाग लिएका छन् । पहिलो दिन आज विभिन्न विद्यालयबाट सहभागी विद्यार्थीले टुँडिखेलमा ४०० मि दौड छात्रछात्रा, १५०० मिटर दौड छात्रछात्रा, छात्रा भलिबल, छात्र कवड्डी लगायतका खेल खेलाइएको तानसेन नगरपालिका शिक्षा शाखा प्रमुख कोपिला न्यौपानेले जानकारी दिनुभयो। तानसेन टुंडिखेलमा सुरु भएको प्रतियोगिता फागुन १३ गते सकिने छ ।












