बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले राजनीतिक र सामाजिक रुपान्तरणमा सहिदहरुको महत्त्वपूर्ण योगदान रहेको बताउनु भएको छ । सहिदहरुको बलिदानबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको बताउनु हुँदै उहाँले देशका लागी बलिदानी दिने सहिद कुनै पार्टी विशेषको नहुने बताउनु भयो ।
आज पाल्पाको दोभानमा जनयुद्धका महान सहिद चुनुमाया गुरुङ (चेनी)को शालिक अनावरण गर्नुहुँदै सभामुख घर्ती मगरले भन्नुभयो - "देश र जनताको लागी आफ्नो बलिदानी दिने ब्यक्ति महान हुन्छ । सरकारले त्यसको सम्मानको लागि राष्ट्रिय सहिद घोषणा गरेको हो । " नेपाली क्रान्तिमा चुनमाया सहित धेरै वीर सहिदहरुको योगदान रहेको बताउनुहुँदै सरकारले त्यसको सम्मान गरि राष्ट्रिय सहिदको सम्मान गरेको बताउनु भयो । समितीका अध्यक्ष अमरसिंह प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का पाल्पा जिल्ला इन्चार्ज नेत्र प्रसाद पाण्डे, तिनाउ गाउँपालिकाका प्रबक्ता यादव अर्याल,नेकपा (माओवादी केन्द्र) निर्वाचन आयोगका केन्द्रिय सदस्य चक्र ब्युह थापा, नेपाली कांग्रेसका नेता प्रेम पाण्डे , लालबहादुर कार्की लगायतले सहिदहरुको सपना पूरा गर्न सकेमा सहिदहरुप्रति सच्चा सम्मान हुनेमा जोड दिनु भएको थियोे । कार्यक्रममा सहिद परिवालाई सम्मान गरिएको थियो ।
तिनाउ गाउँपालिका - ३ भुतखोला, दोभान पाल्पामा अवस्थित सहिद चुनुमाया स्मृति पार्क ब्यवस्थापन समितीको आयोजनामा भएको कार्यक्रममा विभिन्न सामाजिक संघसंस्था , राजनीतिक दलका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । भुतखोला सामुदायिक बन उपभोक्ता समितीको अगुवाईमा यो पार्कको गुरु योजना बनेको छ । माननीय सभामुख तुलाराम घर्ती मगरको पहलमा यो पार्कमा प्रदेश सरकारको पनि लगानी छ ।













