पाल्पा।
सामाजिक सुरक्षा भत्ता वितरण र स्वास्थ्य परीक्षण सहितको घुम्ती शिविर बगनासकालीमा सम्पन्न भएको छ । माघ ७ गतेदेखि १५ गतेसम्म चलेको शिविरबाट एक हजार बढी नागरिक लाभान्वित भएका छन् । गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीका अनुसार नागरिकलाई सहज र सरल रूपमा घरदैलोमै सेवा प्रवाह गर्नका लागि वडास्तरमा सामाजिक सुरक्षा भत्ता वितरणसहितको शिविर सञ्चालन गरिएको हो ।
शिविरमा सामाजिक सुरक्षा भत्तातर्फ १ हजार ६ जना र स्वास्थ्य सेवातर्फ ५३० जनाले सेवा लिएको गाउँपालिकाका सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख भोजराज भट्टराईले जानकारी दिनुभयो । नेपाल बैंकसँगको समन्वयमा गाउँपालिकाले वडास्तरमा सामाजिक सुरक्षा वितरण गरिएको थियो । शिविरमा जेष्ठ नागरिक, दलित जेष्ठ, एकल जेष्ठ, विधवा आर्थिक सहायता, क वर्गका अपाङ्गता, ख वर्गका अपाङ्गता र दलित बालपोषण प्राप्त गर्न योग्य लाभग्राहीले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नुभएको थियो भने स्वास्थ्य परामर्श, चेकजाँच र औषधि वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले दोस्रो त्रैमासिक अन्तर्गत कार्तिक, मंसिर र पुष महिनाको सामाजिक सुरक्षा भत्ता पुष तेस्रो सातानै सम्बन्धित लाभग्राहीको खातामा जम्मा गरिदिएको थियो । बगनासकाली गाउँपालिकामा दोस्रो त्रैमासिकमा वडा नम्बर १ देखि ९ सम्म अन्य जेष्ठ नागरिक १९८३ जना, जेष्ठ दलित १४३ जना, जेष्ठ एकल २७१, विधवा आर्थिक सहायता ४४१, क वर्गका अपांगता भएका ५२, ख वर्गका अपांगता १०८ र दलित बालपोषण १९३ गरी ३ हजार १ सय ९१ लाभग्राही रहेका छन् । ३ हजार १ सय ९१ लाभग्राहीको लागि गाउँपालिकाले ३ करोड १८ लाख ७३ हजार ३ सय ८९ रुपैंया निकासा गरी वितरण गरेको थियो ।
वडास्तरमा सामाजिक सुरक्षा र स्वास्थ्य शिविर सञ्चालनले जेष्ठ नागरिकमा खुसीयाली थपिएको एम.आई.एस.फिल्ड सहायक प्रेमबहादुर बगालेले बताउनुभयो । सामाजिक सुरक्षा भत्ता वितरण र स्वास्थ्य शिविरसहितको शिविर माघ ७ गते वडा नम्बर ६ बाट सुरु भई १५ गते माघ वडा नम्बर ८ मा आएर सकिएको हो । बगनासकाली गाउँपालिकाले प्रत्येक त्रैमासिकमा वडा तहमा पुगेर शिविर सञ्चालनलाई निरन्तरता दिँदै आएको जनाएको छ ।













