७ भदौ
तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ ।
पोखरा देखि काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो । उक्त बसमा करिब ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी वीरेन्द्रबहादुर शाहीले शुक्रबार बिहान ११:३० बजे आबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको जानकारी दिए।
शाहीकाअनुसार घटनास्थलमा आँबुखैरेनीको प्रहरी टोली पुगेको छ। यात्रुहरुलाई डोरी लगाएर उद्धार गर्न थालिएको एसपी शाहीले बताए।
घटना पृथ्वी राजमार्गको आँबुखैरेनी मुग्लिन सडकखण्डमा पर्छ। प्रमुख जिल्ला अधिकारी, एसपी र अन्य सुरक्षाकर्मी घटनास्थलतर्फ जाँदैछन्।











