सुमित्रा कंडेल,पाल्पा
रिब्दिकोटका किसान पछिल्लो समय अकबरे खुर्सानी खेतितर्फ आर्कषित भएका छन।
बादरबाट खेतिबाली जोगाउन नसकेका बेला वैकल्पीक खेतिस्वरुप अकबरे खुर्सानी खेति सुरु गरेका हुन।
लगाएको छोटो अवधिमै आम्दानी लिन सकिने र बजारको अभाव नभएकाले अकबरे खेतीमा किसानको आकर्षण बढ्दै गएको छ।
रिब्दिकोट गाउपालिका–७ का जनक आचार्यले विगत ६ वर्षदेखि २५ रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्नुभएको छ्। छिमेकीहरूले लगाएको खुर्सानी खेतीबाट प्रभावित भएर आचार्यले खेती गरेको बताउनुभयो। पहिले घरायसी प्रयोगका लागि खेति गर्ने उहा पछिल्लो समय व्यवसायिक रुपमै लाग्नुभएको छ।
उहाले यो वर्ष लगाएको खुर्सानीले पनि उत्पादन दिन थालिसकेको छ।गाउपालिकाले निशुल्क बिउ वितरण गर्नुका साथै प्राविधिकको व्यवस्था र बजारीकरणमा साथ दिएपछि किसान खुर्सानी खेतितर्फ आर्कषित भएको उहाको भनाई छ।पालिकाले यो वर्ष खुर्सानीको न्युनतम मुल्य र्निधारण गरेको छ। हरियो खुसार्नी प्रति किलो २०० रुपैयाँमा खरीद गर्दै आएको छ। यसले गर्दा किसान उत्साहित बनेका छन्।
रिब्दिकोट ४ का अर्का किसान विष्णु कार्कीले अकबरेको व्यावसायिक खेती शुरू गरेको ६ वर्ष भयो। १५ रोपनी क्षेत्रफलमा अकबरे खेती गर्दै आउनुभएका उहालाई अहिलेसम्म बिक्रीका लागि कुनै अप्ठ्यारो परेको छैन।
“थोरै लगानीमा खुसार्नीले राम्रो आम्दानी दिइरहेको छ। न बजारको चिन्ता न लगानी डुब्यो भन्ने डर,” कार्कीले भन्नुभयो, “हामी जस्ता किसानका लागि खुसार्नी खेती नगदे बालीमध्ये राम्रो आम्दानीको बाटो बनेको छ।”
जनक र विष्णु मात्र होइनन्, रिब्दिकोटका सबैजसो वडाका धेरै किसानले व्यावसायिक अकबरे खेती गर्दै आएका छन्।
उपभोक्ता र बजार बढेसँगै पछिल्ला समय अकबरेको खेती गर्ने किसानको संख्या पनि बढ्दै गएको छ। रिब्दिकोट खुर्सानी संकलन केन्द्रका व्यवस्थापक नारायण बहादुर जिसिका अनुसार, आर्थिक वर्ष २०७९÷८० मा ३ करोड ५० लाख रुपैयाँको अकबरे निर्यात भएको थियो। अकबरेको खेतीबाट रिब्दिकोटका किसानले एक रोपनीबाट एक सिजनमा एक लाख ५० हजार रुपैयाँ आम्दानी गर्दै आएको किसानहरु बताउँछन्। थोरै लगानीबाट राम्रो आम्दानी लिन सकिने भएकाले यहाँका किसानको रोजाइमा अकबरे खुर्सानी परेको हो। यस्तै, रिब्दिकोटमा अकबरे मात्र होइन, कृषिजन्य अन्य वस्तु पनि उत्पादन हुँदै आएको छ्।
रिब्दिकोट गाउपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले पालिकाका अधिकांस नागरीक कृषि पेशामा आबद्ध भएकोले कृषि क्षेत्रलाइ अगाडि सारीएको बताउनुभयो।विगत ५ वर्षदेखी उत्पादन हुदै आएको अकबरे खुर्सानीलाइ पकेट क्षेत्र निर्माण गरी उत्पादकत्व बढाउन किसानर्लाइ कृषि यान्त्रीकिकरण,प्रबिधि हस्तान्तरण,प्राविधिक आवश्कता अनुसार परिचालन गर्दै आएको बताउनुभयो। अहिले रिब्दिकोट गाउपालिका अकबरे खुर्सानीको नामले परिचित भएको छ।











