पाल्पा , रामपुर नगरपालिकाले सेवा करारमा कार्यरत कर्मचारीहरुको लागि अभिमुखीकरण प्रदान गरेको छ । करारमा कार्यरत कर्मचारीलाई थप जिम्मेवार बनाउनुका साथै उनीहरुको समस्या पहिचान गरी सम्बोधन गर्ने उद्देश्यले नगरपालिकाले सेवा करारमा कार्यरत कर्मचारीहरुको लागि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरेको हो । कार्यक्रममा कर्मचारीहरुले राखेका प्रश्न तथा जिज्ञासा बारे प्रष्ट पार्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सबै तहका कर्मचारीलाई भेदभाव नगरी नगरपालिकाले समान व्यवहार गर्दै आएको बताउनुभयो । नगरलाई वर्तमान अवस्था सम्म ल्याउनका लागि कर्मचारीहरुको महत्वपूर्ण भुमिका रहेको भन्दै थापाले नगरको स्रोत र साधनले भ्याए सम्म कर्मचारीको सेवा सुविधामा नगरपालिकाले विशेष ध्यान दिदै आएको बताउनुभयो । नगरपालिकाले गत वर्ष देखि कर्मचारी कल्याणकारी कोष स्थापना गरेको जानकारी दिदै कार्य सम्पादनका आधारमा कर्मचारीको वृति विकासमा थप व्यवस्था गरिने जानकारी दिनुभयो । उहाँले कर्मचारी र जनप्रतिनिधिको परीक्षा सधैं हुने भएकाले जिम्म्मेवार भएर अघि बढ्न आग्रह गर्नुभयो । नगरको विकास र कार्यसम्पादनको मुख्य मेरुदण्ड कर्मचारीहरु रहेको बताउँदै जनताको सेवामा समर्पित भएर अघि बढ्न सुझाव दिनुभयो ।
रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले कर्मचारीहरुलाई आचारसंहिता पूर्ण रुपमा पालना गर्दै अघि बढ्न अनुरोध गर्नुभयो । उहाँले कर्मचारीहरुलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभयो । रामपुर निमित्त प्रमुख प्रशासकिय अधिकृत चेमन प्रकाश पोखरेलले अधिकारको कुरा गर्दै गर्दा कर्तव्यलाई भुल्न नहुने बताउनुभयो । नगरपालिकामा कार्यरत कर्मचारी मध्ये ६६ प्रतिशत करार सेवाका कर्मचारी रहेको बताउँदै स्वमुल्याङ्कन गरेर कार्यसम्पादन गर्न अनुरोध गर्नुभयो । रामपुर नगरपालिका–५, का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले कर्तव्य निष्ठ भएर लाग्न आग्रह नगरपालिकाको हितमा काम गर्न अनुरोध गर्नुभयो । उहाँले सम्झौता अनुसार प्रतिवद्ध भएर काम गर्न सुझाव दिनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका प्रशासन शाखा प्रमुख युवराज पन्थीले कर्मचारीको काम कर्तव्य, अधिकार र आचारसंहिताको बारेमा अभिमुखिकरण प्रदान गर्नुभएको थियो । कर्मचारीहरुले कर्मचारी कल्याणकारी कोष स्थापना गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम उपप्रमुख बाल कुमारी थापाको स्वागत बाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन रामपुर नगरपालिकाका योजना शाखा प्रमुख विक्रम बस्नेतले गर्नु भएको हो । कार्यक्रममा रामपुर नगरपालिकाका जनप्रतिनिधिहरु संगै करार सेवामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको सहभागीता रहेको थियो ।
यस्तै रामपुर नगरपालिकामा करार कर्मचारी मञ्च गठन भएको छ । आज बसेको कर्मचारीहरुको भेलाले कृष्ण बहादुर थापाको अध्यक्षतामा ११ सदस्य तदर्थ समिति गठन गरेको हो ।समितिको उपाध्यक्ष सविता राना, सचिवमा गणेश प्रसाद रेग्मी, कोषाध्यक्षमा नारायण प्रसाद गैरे र सहसचिवमा शंकर कंडेललाई चयन गरेको छ । अन्यलाई सदस्यमा चयन गरेको छ । भेलाले बासुदेव ढकालको संयोजकत्वमा ५ सदस्य सल्लाहाकार समिति गठन गरेको छ । समितिको सदस्यहरुमा दान बहादुर हिस्की, विष्णु मायाँ अर्याल, महेन्द्र प्रसाद श्रेष्ठ र खिम कुमारी सुनार रहनु भएको छ ।