रामपुर असार ५ , निशुल्क लोक सेवा आयोग तयारी कक्षा रामपुर पाल्पामा सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आयोजनामा भएको ४५ दिने लोक सेवा आयोग तयारी कक्षाको मंगलबार समापन गरिएको छ ।
समापन कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले लोक सेवा आयोग पढ्न चहाने विद्यार्थीहरुको सहजताका लागि कक्षा सञ्चालन गरिएको बताउनुभयो । उहाँले लोक सेवा आयोग तयारीका लागि मार्ग दर्शनको रुपमा कक्षा सञ्चालन गरिएको भन्दै लगनशील भएर अध्ययन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । स्वदेशमै बसेर देश र जनताको सेवा गर्नका लागि मेहनतका साथ अध्ययन गर्न आग्रह गर्दै नगर प्रमुख थापाले उद्देश्य प्राप्तिका लागि लगनशिलता र निरन्तरताको खाँचो रहेको बताउनुभयो ।कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले नगरपालिकाले लोक सेवा आयोग बारे आधारस्तम्भ तयार गर्नका लागि कक्षा सञ्चालन गरेको भन्दै सफलताका लागि मेहनतका साथ अध्ययन गर्न आग्रह गर्नुभयो ।
यस्तै रामपुर नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं.१ का अध्यक्ष कपिल बहादुर खाँणले नगरपालिकाले सञ्चालन गरेको निशुल्क लोक सेवा आयोग तयारी कक्षाको उपलब्धी र औचित्य पूरा गर्नका लागि परिक्षामा सफल भएर राष्ट्र सेवक कर्मचारी बन्न आग्रह गर्नु भएको छ । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले नगरपालिकाले लोक सेवा आयोगको बाटो मात्रै देखाएको भन्दै सफलताका लागि आफै मेहनतका साथ अगाडी बढ्नु पर्ने बताउनुभयो । रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा शहिद बहुमुखी क्याम्पस रामपुर पाल्पाका स्ववीयु सभापति ल्याकत अली,सहभागि विद्यार्थी सुरक्षा घिमिरे ,पुजा पगेनी र संगिता बस्यालले बोल्दै लोक सेवा आयोग बारे जान्न र ज्ञानको अभिवृद्धिका लागि कक्षा सञ्चालन गरेकोमा नगरपालिकालाई धन्यवाद ज्ञापन गरेका थिए ।
साथै लोक सेवा आयोग तयारी कक्षा अवधिभरमा उत्कृष्ट हुने ३ जना सहभागिलाई पुरस्कृत समेत गरेको छ । सहभागी मध्ये पुजा पंगेनी, सरिता लम्साल र आकृति भट्टराई उत्कृष्ट सहभागीको रुपमा पुरस्कृत भएका छन् । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितको अध्यक्षतामा भएको कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । रामपुर नगरपालिकाका प्रशासन अधिकृत ,सूचना अधिकारी तथा तालिमका संयोजक युवराज पन्थीलेको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन योजना शाखा प्रमुख विक्रम बस्नेतले गर्नु भएको थियो ।













