मिलन काफ्ले,९ जेठ ,पाल्पा ।
पाल्पाकाे रम्भा गाउँपालिका -४ मा रहेको अमर आधारभुत विद्यालयकाे अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघक गठन गरेकाे छ। विद्यालयकाे अभिभावक भेलाबाट कृष्णबहादुर सिंजालीकाे अध्यक्ष रहेकाे समितिलाई विघटन गर्दै नयाँ विद्यालय व्यवस्थापन समितिकाे गठन गरेको छ।
नवगठित समितिकाे अध्यक्षमा ओमकुमारी सारू सहित सात सदस्यीय समिति गठन भएको हाे। त्यस्तै अभिभावक भेलाले अनिता दर्लामीकाे अध्यक्षतामा एघार सदस्यीय शिक्षक अभिभावक संघकाे समेत पुनर्गठन गरेको छ ।
अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिकाे सदस्यमा भगवती खनाल,बिन्दु काफ्ले ,तुलसा सारू,पदेन सदस्य वडा अध्यक्ष कृष्णबहादुर रायमाझी र शिक्षक प्रतिनिधिमा मधुसुदन खनाल सहित विद्यालयका प्रधानाध्यापक इश्वरीप्रसाद बस्याल सदस्य सचिव रहेनुभएकाे छ।अभिभावक भेलाले शिक्षा नियमावलीकाे संशोधित कार्यबिधि अनुसार छनाैट भएका व्यवस्थापन समितिमा चारजना सदस्य रहने व्यवस्था अनुसार निर्वाचित गरेको हाे। त्यस्तै अभिभावक भेलाले शिक्षक अभिभावक संघका ११ जना सदस्य सबै महिला छन। याे एक संयाेग मात्र हाे या हाम्राे समाजकाे वास्तविकता? बहसको बिषय हुनसक्छ तथापि अमर विद्यालयकाे इतिहासमा भने यति ठुलाे संख्यामा महिला प्रतिनिधित्व रहेकाे व्यवस्थापन समिति एवं शिक्षक अभिभावक संघ गठन भएकाे पहिलाेपटक हाे ।
अभिभावक भेलाका प्रमुख अतिथि एवं रम्भा गाउँपालिका प्रवक्ता तथा ४ नं वडाका वडाअध्यक्ष कृष्ण बहादुर रायमाझीले नवगठित दुबै समितिका पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालकाे शुभकामना ब्यक्त गर्नुभएको थियो । उहाँले पदेन सदस्यकाे रूपमा प्राप्त जिम्मेवारीलाई पूरा गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयाे। रायमाझीले "महिला नेतृत्वले विद्यालयलाई थप प्रगति गराउने दिशातर्फ अगाडि बढाउने" विश्वास समेत ब्यक्त गर्दै अहिले गाउँमा युवाकाे सक्रियता र गाउँमा युवा उमेरका पुरूषकाे संख्या न्यून रहनुले विकास निर्माण अन्य सामाजिक गतिबिधिहरूमा समेत प्रत्यक्ष असर परेकाे बताउँनुभयाे। यसैगरी नवगठित विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमकुमारी सारूले विद्यालयकाे शैक्षिक गुणस्तर सुधार अभिवृद्धिमा आफू सधै कुशल व्यवस्थापनमा आफ्नो जाेड रहने बताउँनुभयाे ।
भेलाले पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन गरेकाे छ।













