सुमित्रा कंडेल पाल्पा
सेवा प्रवाहलाई थप गतिशील बनाउन पाल्पाको तानसेन नगरपालिकामा क्रियाशील महिला स्वास्थ्य स्वयंसेविकालाई झोला वितरण गरिएको छ । एक लाखको बजेटमा तानसेनका १४ वटा वडाका ८९ जना स्वास्थ्य स्वयंसेविकालाई नगर उपप्रमुख प्रतिक्षा गाहा सिंजाली, प्रमुख प्रशासकिय अधिकृत हरीराम नागिला लगायतले झोला वितरण गर्नुभएको हो।
नगर उपप्रमुख गाहाले महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा अहोरात्र योगदान गर्दैआएको र अझ थप स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज होस् भन्ने उद्देश्यले तानसेन नगरपालीकाको लोगो अंकित झोला वितरण गरिएको बताउनुभयो ।
‘मानव जीवनको आधारभूत आवश्यकता स्वास्थ्य क्षेत्रको विकास र सुधार गर्न जरुरी छ’, उहाँले भन्नुभयो, ‘सबै मिलेर स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनुपर्छ ।’ जस्तोसुकै अवस्थामा पनि स्वास्थ्य स्वयंसेविकाको भूमिका उल्लेखनीय रहेको भन्दै नगरलाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउन थप योगदान दिन आग्रह गर्नुभयो । स्वास्थ्य क्षेत्रमा चलेका अभियानहरु खुला दिसामुक्त, पूर्ण खोप अभियान लगायतमा स्वयंसेविकाहरुको महत्वपूर्ण स्थान रहेको भन्दै बाल तथा मातृ मृत्युदर कम बनाउनमा स्वयंसेविकाहरुको प्रमुख भूमिका रहेको बताउनुभयो ।
महिला स्वास्थ्य स्वयंसेविकाहरुको प्रोत्साहन कार्यक्रमअन्तर्गत नगरभित्र रहेका ८९ महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहनस्वरुप झोला वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताउनुभयो । समाज परिवर्तनमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको भूमिका प्रमुख रहेको बताउनुभयो । उहाले नगरपालिकालाई घरमा हुने प्रसूतिमुक्त नगर बनाउन र स्वास्थ्य संस्थामा मात्र सुत्केरी हुने नगर बनाउन सबै स्वयंसेविकाहरु लाग्नुपर्नेमा जोड दिनुभयो।
गर्भवती तथा सुत्केरी जाँच, बालबालिकाले लगाउने खोपका कार्यक्रम लगायतका विभिन्न कार्यक्रममा स्वयंसेविकाहरु अग्रस्थानमा रहेर काम गरेकाले उनीहरुको सम्मान र प्रोत्साहनका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झपेन्द्र न्यौपानेले बताउनुभयो । महिला स्वास्थ्य स्वयंसेविकाहरु समाजका परिवर्तनका संवाहक भएको बताउँदै आगामी दिनमा पनि स्वयंसेविकाहरुको प्रोत्साहन तथा सम्मान कार्यक्रम गर्ने बताउनुभयो । गाउँका घरघरमा हिँड्न तथा अत्यावश्यक सामग्री लिएर हिँड्दा झोला आवश्यक रहेकाले झोला वितरण गरिएको न्यौपानेको भनाइ छ ।
स्वास्थ्य सामग्री र रजिष्टर राख्नका लागि झोला प्रदान गरेकामा आफूहरु खुसी भएको तानसेन ३ की महिला स्वास्थ्य स्वयंसेविका पुनम श्रेष्ठले बताउनुभयो । महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नो क्षेत्रमा स्थायी–अस्थायी परिवार नियोजनबारे परामर्श र सेवा उपलब्ध गराउने, मातृ स्वास्थ्य प्रवर्धन अन्तर्गत गर्भवती महिलालाई स्वास्थ्य संस्थामा चार पटक गर्भजाँचका लागि प्रोत्साहन, गर्भवती महिलालाई आइरन चक्की वितरण, स्वास्थ्य संस्थामा प्रसूति गराउन प्रोत्साहनलगायत काम गर्दैआएका छन् । नगरपालिकाले झोला वितरण गरेकामा महिला स्वास्थ्य स्वयंसेविकाहरु खुसी भएका छन् ।












