पाल्पा,रामपुर नगरपालिका वडा नं.६ पाल्पामा मादल बजाउने तालिम बिहिवार सम्पन्न भएको छ । रामपुर नगरपालिका वडा नं.६ को संस्कृति संरक्षण कार्यक्रम अन्तर्गत संरक्षण समितिको समन्वयमा मादल बजाउने तालिम सम्पन्न गरेको हो । १० दिन सम्म चलेको तालिममा वडा नं.६ भित्रका २५ जना महिला दिदी बहिनीहरुको सहभागिता रहेको थियो । समापन कार्यक्रममा सहभागीलाई प्रमाण पत्र वितरण गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले तालिमले कला, ज्ञान सिप आर्जन संगै संस्कृतिको संरक्षणकालागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । साथै उहाँले आगामी दिनहरुमा गाँउ छिमेकमा हुने विभिन्न कार्यक्रममा मादल बजाउने व्यक्तिको अभाव नहुने उल्लेख गर्नुभयो । उपप्रमुख थापाले नेपालीहरुको मौलिक संस्कृतिको जगेर्ना संगै महत्व बढाउन तालिम लाभदायी भएको वताउनु भयो ।
कार्यक्रममा रामपुर नगरपालिकाका सल्लाहाकार तथा निवर्तमान वडा अध्यक्ष हुमनाथ न्यौपानेले तालिम मादल बजाउनमा मात्र सिमित नभएको भन्दै यसले संस्कृतिको संरक्षण संगै बाजाको संरक्षण पनि हुने बताउनुभयो । कार्यक्रममा राजनीतिक दलहरुको तर्फबाट राष्ट्रिय जनमोर्चा रामपुरका नगर अध्यक्ष राम प्रसाद गैरेले तालिममा सिकेका ज्ञानलाई अभ्यास मार्फत दक्ष मादल बाधक बन्न आग्रह गर्नुभयो । यस्तै तालिमका प्रशिक्षक कलाकार हुम विसीले १० दिनको तालिममा मादल बजाउनका लागि आधारभूत ज्ञान सिप सिकाइएको बताउँदै सिकेका ज्ञान सिपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।
तालिममा सहभागिहरुको तर्फबाट मधुरा पाठकले संस्कृतिको संरक्षणकालागि प्रदान गरिएको तालिम आफुहरुका लागि उपलब्धी मूलक भएको भन्दै मादल र संस्कृतिको संरक्षणकालागि लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रामपुर नगरपालिकाका कार्यपालिका सदस्य शारदा आचार्यको स्वागत, मञ्जु ढुंगानाले धन्यवाद ज्ञापन तथा कार्यक्रमको सञ्चालन सुष्मा आलेले गर्नु भएको थियो । रामपुर नगरपालिका वडा नं.६ का अध्यक्ष दिवाकर देवकोटाको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।













