पाल्पा । दरबार परिसरको ऐतिहासिक पर्खालमा विद्युत कार्यालय पाल्पाले अन्धाधुन्ध डोजर चलाएको छ । विद्युत प्राधिकरणले डोजर चलाउँदा २०० वर्ष पुराना ढुंगा र त्यहाँको पर्खाल लथालिंग बनेको हो ।
ऐतिहासिक वस्तुको मर्यादा नराखी विद्युत प्राधिकरणले बाटो खोल्ने नाममा पर्खालमा डोजर चलाएको हो । ऐतिहासिक पाल्पा दरबारलाई विश्व सम्पदा सुचिमा समावेश गर्न तानसेन नगरपालिकाले प्रक्रिया अघि बढाईरहेको छ तर नियमन गर्न सकेको छैन । बाटो खोल्न र पर्खाल भत्काउन विद्युत प्राधिकरणले कुनै समन्वय नगरेको तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । श्रेष्ठले विद्युत प्राधिकरणले नगरपालिकासंग समन्वय गर्नुपर्नेमा आफुखुसी गरेको भन्दै अनुगमन गर्ने बताउनुभयो ।
ईतिहासविद् निर्मल श्रेष्ठले ऐतिहासिक भगवती मन्दिर परिसरको पर्खाल लथालिंग तरिकाले भत्काउन नहुने बताउनुभयो । श्रेष्ठले दरबार परिसरको पर्खाल र ढुंगा एतिहासिक भएकाले संरक्षण गर्नुपर्ने सबैको दायित्व भएको बताउनुभयो । भत्काईएको पर्खालका ढुंगा संरक्षण नगरि लथालिंग रुपमा छाडिएको छ । केहि ढुंगाहरु बतासेडाँडा स्थित प्राधिकरणको सवस्टेशनमा लगेर मिल्क्याईएको छ ।
नगरपालिकाले ऐतिहासिक दरबार परिसरको संरक्षण गर्न भनि विद्युत प्राधिकरणको कार्यालय हटाउन परिपत्र समेत गरिसकेको छ तर प्राधिकरणले उल्टो पर्खाल भत्काएर ऐतिहासिक ढुंगाहरु लथालिंग पारेको छ । विद्युत प्राधिकरण पाल्पाका प्रमुख दिलिप मरासिनीले विद्युत कार्यालयको नाममा जग्गा भएका कारण कसैसंग अनुमती लिनु नपर्ने बताउनुभयो । मरासिनीले त्यहाँका ढुंगा कतैपनि नलगिएको बताएपनि बतासेडाँडा स्थित सवस्टेशनमा मिल्क्याईएको अवस्थामा रहेको छ ।
पर्खाल भत्काएको स्थानमा ढुंगाहरु फुटेर छरपस्ट अवस्थामा रहेका छन् । संरक्षण गरिनुपर्ने क्षेत्रको लथालिंग तरिकाले विनास हुनु राम्रो विषय नभएको स्थानीय शान्ति बस्यालले बताउनुभयो ।













