पाल्पा जिल्लाको माथागढी गाउँपालिका ३ स्थित सराइ फुलवारीमा मगर एकता दिवस भव्य रूपमा मनाइने भएको छ । नेपाल मगर सङ्घ माथागढी गाउँ कमिटिले आउने फागुन १५ गते सराइमा विविध कार्यक्रमसहित मगर एकता दिवस मनाउने तयारी गरेको सोमवार तानसेनमा पत्रकार सम्मेलनमा संघका अध्यक्ष भेगराज थापा मगरले जानकारी दिए । संघले नेपाल मगर संघ स्थापना भएको दिनलाई एकता दिवसको रूपमा मनाउँदै आएको हो ।
संघले १५ गते झाँकी र्याली गर्ने, सभा गर्ने, घोषणापत्र तथा प्रतिवद्धता पत्रमा हस्ताक्षर अभियान चलाउने, परम्परागत सस्कृति झल्कने नाच तथा गीत प्रस्तुती गर्ने जनाएको छ ।
मगर एकता दिवसको अवसरमा मगर लगायत अन्य समुदायलाई महोत्सवमा सहभागी हुन आग्रह गरेको छ । पत्रकार सम्मेलनमा मगर सङ्घका लुम्विनी प्रदेश सचिव तेज घर्तीमगरले मगरले पत्रकारहरुको जिज्ञासा मेटाउदै समुदायको ऐतिहासिक पहिचान सहित माथागढी गाउँपालिकाको आर्थिक सहयोगमा मगर राष्ट्रिय एकता दिवस मनाउने तयारी गरेको जानकारी गराए । घर्ती मगरले एकता दिवसले मगर समुदायमा प्रचलित संस्कार संस्कृतिको संरक्षण गर्न र केही विकृति हटाउन सन्देश प्रदान गर्ने उल्लेख गर्दे शिक्षाले नै समृद्धि ल्याउने हुनाले अनिर्वाय शिक्षा हरेक वालवालिकलाई दिनु पर्ने वताए।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष रेखीराम रानाले मगर समुदायको एकता दिवसलाई फरक शैलीमा मनाउन आवश्यक रहेको वताएका थिए। कार्यक्रममा पत्रकारहरू कमलराज तिमिल्सिना, माधव अर्याल, देव पचभैया, यज्ञमूति तिमिल्सिना, नारायण न्यौपाने, विष्णु खनाल, पदम गैरे,भगवान भण्डारी, लगायतले जिज्ञासा तथा सुझाव राखेका हुन् । कार्यक्रम संघका सचिव खोम गाहाको संचालन तथा अध्यक्ष भेगराज थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।












