बुटवल-बुटवल उपमहानगरपालिकाले आयोजना गरेको विद्यालयस्तरीय प्रथम बुटवल मेयर कपको उपाधि अक्सफोर्ड माविले जितेको छ।
सोमबार भएको फाइनल खेलमा नवीन औद्योगिक माविलाई १-० गोलको अन्तरले हराउँदै अक्सफोर्डले उपाधि जितेको हो।
देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा विजयी अक्सफोर्डले उपाधिसँगै १ लाख रुपैयाँ र शिल्ड पाएको छ।
यस्तै उपबिजेता नवीन औद्योगिक माविले ६० हजार पाउँदा सेमीफाइनलमा पुग्ने उजिरसिंह मावि र एभरेष्ट माविले १८-१८ हजारका दरले पुरस्कार पाएका छन्। प्रतियोगितामा उत्कृष्ट खेलाडीको पुरस्कार अक्सफोर्ड माविका टीम क्याप्टेन सुजलमान घले, उत्कृष्ट गोलकिपर अक्सफोर्डकै डेभिड थापा, उत्कृष्ट मिडफिल्डर अक्सफोर्डकै रमित नाम्जाली मगर र सर्वाधिक गोलकर्ताको पुरस्कार अक्सफोर्डकै अस्मित शर्माले पाएका छन्।
यस्तै उत्कृष्ट डिफेन्डरको पुरस्कार नवीन औद्योगिक माविका सन्दीप दर्जी र उत्कृष्ट फरवार्डको पुरस्कार नवीनकै विजन सुर्यवंशीले पाएका छन्। प्रतियोगितामा उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र अधिकतम गोलकर्ताले ८-८ हजारका दरले पुरस्कार पाएका छन्।
बिजेता तथा उत्कृष्ट खेलाडीहरुलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रादेवी अर्याल, नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, म्याच कमिस्नर हरिप्रसाद श्रेष्ठलगायतले पुरस्कार प्रदान गरेका थिए।
पुरस्कार प्रदानपछि बोल्दै नगर प्रमुख पाण्डेयले बुटवलमा खेलाडी उत्पादनका लागि पहिलोपटक आयोजना गरिएको विद्यालयस्तरीय फुटबल प्रतियोगिताले उत्साह बढाएको र आगामी दिनमा थप खेल प्रतियोगिता आयोजना गर्ने बताए। उनले विद्यालयहरुलाई हरेक क्षेत्रमा अब्बल बनाउनका लागि खेलकुद र अन्य विभिन्न प्रतियोगिताहरु तथा क्षमता विकासका कार्यक्रम समेटेको बताए।
प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालय सहभागी रहेका नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए।
प्रतियोगितामा २०६० साल माघ १९ गतेभन्दा अघि जन्मिएका वा २० वर्ष ननाघेका विद्यार्थीमात्रै सहभागी थिए।
---------
बुटवलमा एक लाख राशीको लोक नृत्य प्रतियोगिता
बुटवल-बुटवलमा एक लाख रुपैयाँ पुरस्कार राशीको लोक नृत्य प्रतियोगिता हुने भएको छ ।
बुटवल उपमहानगरपालिकाको ६५ औं स्थापना दिवसको अवसरमा फागुन १ र २ गते बुटवल उपमहानगरपालिकाको परिसरमा अन्तर विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता आयोजना गर्न लागिएको हो। लोकसंस्कृतिको जगेर्ना तथा विद्यालयस्तरबाटै क्षमता विकासको कार्यक्रमअन्तरगत लोकनृत्य प्रतियोगिता आयोजना गर्न लागिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए।
उनले विद्यार्थीहरुमा हरेक खालको क्षमता विकासका लागि बुटवलले खेलकुद र सांस्कृतिक कार्यक्रम र अन्य शैक्षिक सुधारका कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए।
समाजको सांस्कृतिक सम्पत्तिको रुपमा रहेका लोक संस्कृतिलाई जगेर्ना गर्न र अहिलेका पिंढीलाई लोकसंस्कृतिको जानकारी दिन लोकनृत्य प्रतियोगिता गर्न लागिएको लोकनृत्य प्रतियोगिता संयोजक तथा बुटवल उपमहानगरपालिका-१३ का अध्यक्ष नारायण पुनले बताए ।
उनका अनुसार प्रतियोगितामा एउटा विद्यालयबाट एक समुहले मात्र भाग लिन पाउनेछन्। उपमहानगर भित्रका ४४ विद्यालयले सहभागिता जनाउँदैछन् ।
प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ नगद पुरस्कार पाउने वडाध्यक्ष पुनले जानकारी दिए । त्यस्तै, द्वितीय हुनेले ६० हजार र तृतीय हुनेले २५ हजार रुपैयाँ पाउनेछन् ।











