पाल्पा–जिल्लाको निस्दी गाउँपालिका–३,झिरुवास स्थित रहेको काउलेडाँडामा कबुलियती वनले स्थानीयवासीलाई आम्दानीसँगै पर्यटकलाई आकर्षित गरेको छ । निस्दीको झिरुवासस्थित काउलेडाँडाको २५० हेक्टर क्षेत्रफलमा लगाइएको कबुलियती वनले स्थानीय बासिन्दालाई आम्दानी दिएको छ भने आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरेको हो ।
वनभित्र लगाइएको अम्रिसोबाट स्थानीय बासिन्दाले वार्षिक तीन करोड रुपियाँभन्दा बढी आम्दानी लिन सफल भएका छन् । स्थानीय बासिन्दाले खोरियाका रूपमा प्रयोग गरेको नाङ्गो डाँडा १० वर्षअघि कबुलियती वन बनाएर नेपाल सरकारले ४० वर्षका लागि हस्तान्तरण गरेपछि यसले आम्दानी दिन थालेको स्थानीय बासिन्दा दमन पाटा मगरले बताउनुभयो । अहिले कबुलियती वनभित्र हुर्किएको अम्रिसो, टिमुर, दालचिनीलगायतबाट वार्षिक गाउँमा तीन करोडभन्दा बढी भित्रिने गरेको उहाँले बताउनुभयो ।
कबुलियती वन कार्यक्रमबाट ४० वर्षका लागि यहाँका जनताले खेर गएको जङ्गल कबुलियत गरी पाएका थिए । सोही जङ्गलमा लगाइएका अमिस्रोको कुचो, डाँठ र नयाँ बिरुवा बिक्रीबाट स्थानीयवासीले आम्दानी लिएका हुन् । दस वर्षअघि श्रमदानमार्फत वनमारा झार हटाएर कबुलियती वन बनाइएको हो । हाल यहाँ पाँच वटा समूहका ११७ घरधुरीले अम्रिसो, दालचिनी, टिमुरबाट आम्दानी लिइरहेका छन् । यस्तै कबुलियती वन हेर्न र वनभित्र रमाउन यहाँ दैनिक सयौँ आन्तरिक र बाह्य पर्यटक भित्रिने गरेका छन् । कबुलियती वनभित्र लगाएका लाखौँको अम्रिसोको वन हेर्न दैनिक सयौँ पर्यटक आउने गरेका छन् । नाङ्गो डाँडालाई अम्रिसो रोपेर वन बनाएपछि डाँडा नै सुन्दर बनेको र यसलाई हेर्न जिल्लाभित्र, जिल्लाबाहिर र विदेशबाट समेत पर्यटक आउने गरेको निस्दी–३, झिरुबासका वडाध्यक्ष नवीन्द्र थापासोतीले बताउनुभयो । उहाँका अनुसार यहाँको अम्रिसो हेर्न र वनभित्र ‘पिकनिक’ खान आउने मानिसको सङ्ख्या दिनप्रतिदिन बढेको छ ।











