पाल्पा– तानसेन टुँडिखेलमा पाँचौ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ ।
मंगलबार सुरु प्रतियोगिताको लुम्बिनी प्रदेश सभा सदस्य वीरबहादुर रानाले उद्घाटन गर्नुभयो । चार दिनसम्म चल्ने प्रतियोगितामा संस्थागत र सामुदायिक गरी २७ विद्यालयका ९२७ विद्यार्थीले भाग लिएका छन् ।
विभिन्न ५३ विद्यामा ३८० मेडलका लागि एथलेटिक्स, कराँते, तेक्वान्दो, भलिबल र कवड्डी लगायतका खेल खेलाइने आयोजकले जनाए । प्रतियोगितामा १३ देखि १८ वर्षसम्मका खेलाडीले भाग लिएका छन् । पहिलो दिन विभिन्न विद्यालयबाट सहभागी विद्यार्थीले टुँडिखेलमा मार्चपास गर्नुका साथै दौड, कवड्डी भलिबल लगायतका खेल खेलाइएको तानसेन नगरपालिका शिक्षा शाखाले जनाएको छ ।













