पाल्पा- लुम्बिनी मेडिकल कलेज शिक्षण अस्पताल पाल्पामा स्वास्थ्य बीमा कार्यक्रम पुन: सञ्चालनमा आएको छ । स्वास्थ्य बीमा बोर्डले आईतवार युजर आईडी र क्लेम कोड उपलव्ध गराएपछि सो अस्पतालमा बीमा कार्यक्रम पुन: प्रारम्भ भएको हो ।
‘गत २९ पुसको निर्णय अनुसार सबै प्रक्रिया पुरा गरेपछि आज हामीले ‘युजर नेम’ र ‘क्लेम कोड’ उपलव्ध गरायौँ । अब सो अस्पताल पनि स्वास्थ्य बीमा बोर्डको सेवा प्रदायक स्वास्थ्य संस्थाको रुपमा सूचीकृत भएको छ । अब त्यस क्षेत्रका बीमितहरुले उपचार सुविधा त्यस अस्पतालबाट लिन सक्नुहुनेछ,’ स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले भन्नुभयाे।
रलुम्बिनी मेडिकल कलेज शिक्षण अस्पतालका मेडिकल डाइरेक्टर डा.राजु शाक्यले आज (सोमबार)बाट बीमितहरुको सेवा प्रारम्भ भएकाे बताउनुभयो । ‘हामीले आईतबार दिउसो मात्रै युरन नेम पासवर्ड र क्लेम कोड प्राप्त गरेम । यो पटक को पेमेन्ट सिस्टम पनि छ । त्यसैले हामी त्यसमा युज टू पनि हुनु परयो । डेमो पनि गर्नु परयो भनेर । त्यसको सबै तयारी गर्दा गर्दै आईतबार ढिला भयो । आज (सोमबार)बाट वीमा कार्यक्रम सञ्चालनमा आउने छ,’ उहाँले भन्नुभयो ।
डा. शाक्यले पाल्पा अस्पतालमा सातामा तीन दिन तीन जना विशेषज्ञ चिकित्सक पठाउने समेत बताउनुभयाे ।
‘हामीले सम्झौँता गरेका छौँ । सोही अनुसार हाम्रा चिकित्सक त्यहाँ गएर सेवा दिनुहुनेछ,’ डा. शाक्यले भन्नुभयाे ।
आर्थिक बर्ष ०७९ /०८० को बजेट बक्तव्यमा स्वास्थ्य बीमा कार्यक्रम १ साउन २०७९ देखि सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थाबाट मात्रै उपलव्ध गराउने कुरा आएपछि लुम्बिनी मेडिकल कलेजले ३ साउनमा विज्ञप्ती जारी गर्दै ४ साउन २०७९ देखि बीमा कार्यक्रम स्थगित गर्ने निर्णय भएको जनाएको थियो । त्यसपछि बोर्डले पनि सो मेडिकल कलेजलाई ‘डिलिस्टिङ’ गरेको थियो ।
स्वास्थ्य बीमा कार्यक्रम स्थगन गरेपछि मेडिकल कलेजलाई बिरामीको हाहाकार जस्तै भएको थियो । त्यसपछि कलेज सञ्चालकहरुले पुन: स्वास्थ्य बीमा कार्यक्रममा आवद्धता जनाउने व्यवस्था मिलाइदिन केन्द्र सरकारसंग धाइरहेका थिए ।
‘स्वास्थ्य बीमामा आवद्धता हुनेहरुको प्रतिशत हेर्दा ७७ जिल्लामै पहिलो थियो पाल्पा । तर लुम्बिनी मेडिकल कलेज र पछि युनाइटेड मिसन अस्पतालले समेत स्वास्थ्य बीमा कार्यक्रम स्थगन गरेपछि बीमितहरु समस्यामा परेका थिए । लुम्बिनीमा सेवा सुचारु हुँदा स्थानीय बासीलाई ठूलो राहत पुगेको छ ।










