पाल्पा–रामपुर नगरपालिका वडा नं. ७ पाल्पामा माघे सक्रान्ति पर्वको अवसरमा मगरी खाना सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । माघे सक्रान्ति पर्वको अवसरमा नेपाल मगर संघको आयोजनामा संघको कोष स्थापना ,बटुक ,तरुल लगाएत मगरी खानाका परिकार सहित शुभकामना आदान प्रदान कार्यक्रम शनिबार सम्पन्न भएको हो ।
नेपाल मगर संघका केन्द्रिय सदस्य धन बहादुर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानाले मगर समुदायको रितिरिवाज भेष भुषा , भाषा , संस्कृति पछिल्लो समय ओझलमा पर्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले विभिन्न समयमा मनाईने चाड पर्व पनि परम्परा भन्दा फरक मनाउन थालेको उल्लेख गर्नुभयो । मगर समुदायको उत्थान र संस्कृतिको संरक्षणमा लाग्न आग्रह समेत गर्नु भएको छ ।
क्रियाशिल मगर उत्थान समुहको भवनमा भएको कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ७ का अध्यक्ष दोवराज तिवारले मगर समुदायको पहिचान बोकेका विभिन्न संस्कृतिको संरक्षणका लागि वडा कार्यालयले सहयोग गर्ने भन्दै समुदाय संगै समाज रुपान्तरणमा लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल मगर संघ रामपुर नगर समितिका अध्यक्ष राम बहादुर हिस्की थापाले जातिय पहिचानसंग जोडिएका हरेक संस्कार र संस्कृतिको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।













