पाल्पा–जिल्लाका किसानहरुले चिस्यान केन्द्र नहुँदा सस्तोमा सुन्तला बिक्री गर्न बाध्य भएका छन् । किसानहरूको माग अनुसार सुन्तला भण्डारण गर्ने चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माण नहुँदा किसानले सस्तोमा सुन्तला बिक्री गर्न बाध्य भएको हो ।
डेढ दशकअघि सुन्तला भण्डारण गर्न चिस्यान केन्द्र स्थापनाको माग गरेको भए पनि अहिलेसम्म निर्माण हुन सकेको छैन ।
चिस्यान केन्द्रमा सुन्तला भण्डारण गरेर बेसिजनमा बिक्री गर्न पाए धेरै आम्दानी गर्न सक्ने सम्भावना भए पनि त्यसो नहुँदा सस्तोमा सुन्तला बिक्री गर्न बाध्य भएको किसानको गुनासो गरेका छन। जिल्लाको सुन्तला अत्याधिक हुने क्षेत्र रैनादेवी छहरा, रिब्दीकोट, बगनासकाली गाउँपालिकाका किसानले सस्तोमा सुन्तला बिक्री गरेको बताएका छन् ।
चिस्यान केन्द्रको अभावमा सुन्तला भण्डारण गर्न नसक्दा सिजनमा प्रतिकिलो ४० देखि ७० रुपियाँ सुन्तला बिक्री गर्न बाध्य भएको किसानहरुले बताएका छन।
चिस्यान केन्द्रको व्यवस्थापन नहुँदा बुटवल, भैरहवा, पोखरा, नारायणघाट, चितवनबाट आएका व्यापारीले तोकेको मूल्यमा सुन्तला बिक्री गर्न बाध्य भएको किसानको भनाइ छ । पाल्पाको तीन वटा पालिकाका अधिकांश वडाबाट वार्षिक १० करोड बढीको सुन्तला निर्यात हुने गरेको छ ।
चिस्यान केन्द्रको व्यवस्थापन भएको अवस्थामा हाल बिक्री भइरहेको सुन्तलाको मूल्यले तेब्बर बढी भाउ पाउने किसानको भनाइ छ । सदरमुकाम तानसेनमा बनेको चिस्यान केन्द्र ११ वर्षदेखि अलपत्र छ ।













