लुम्बिनी प्रदेशमा माछा पालनको क्षेत्रफल र उत्पादन दुवैमा वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०७८–७९ को तुलनामा आर्थिक वर्ष २०७९–८० मा माछा उत्पादन ४.१९ प्रतिशतले बढेको मत्स्य विकास निर्देशनालयले जनाएको छ ।आर्थिक वर्ष २०७८–०७९ मा १३ हजार ७०६.१३ मेट्रिक टन मत्स्य उत्पादन भएकोमा गत आर्थिक वर्ष १४ हजार २८१.१३ मेट्रिक टन उत्पादन भएको छ ।
यस्तै मत्स्य उत्पादन हुने जलाशयको क्षेत्र पनि बढेको निर्देशनालयले जनाएको छ । आर्थिक वर्ष २०७८–०७९ मा २ हजार १ हेक्टर क्षेत्रफलमा माछा पालन गरिएकोमा आर्थिक वर्ष २०७९–०८० मा २ हजार ८६६ हेक्टर क्षेत्रफलमा कृत्रिम रुपमा माछा उत्पादन भएको प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निमित्त प्रमुख डा.प्रवेश सिंह कुँवरले बताउनुभयो ।
कुन जिल्लामा कति उत्पादन हुन्छ माछा?
लुम्बिनी प्रदेशका १२ जिल्लामा कृत्रिम पोखरीमा उत्पादन गरिएका माछाको विवरण मत्स्य विकास निर्देशनालयले राख्ने गरेको छ । जस अनुसार नवलपरासी जिल्लामा आर्थिक वर्ष २०७८–०७९ मा २२६ हेक्टरमा माछा पालन गर्दा १ हजार ८५ मेट्रिक टन उत्पादन भएको थियो । आर्थिक वर्ष ०७९–०८० मा भने २७८ हेक्टर जलाशयमा १ हजार ३९० मेट्रिक टन माछा उत्पादन भएको छ ।
रुपन्देही जिल्लामा आर्थिक वर्ष २०७८(०७९ मा १ हजार १८७ हेक्टर क्षेत्रफल जलाशयमा ६ हजार १७४ मेट्रिक टन माछा उत्पादन भएको थियो भने आर्थिक वर्ष ०७९(०८० मा एक हजार २४१ हेक्टर जलाशयमा ६ हजार ५७७ मेट्रिक टन माछा उत्पादन भएको छ ।
कपिलवस्तु जिल्लामा २०७८–०७९ मा ५५२ हेक्टर जलाशयमा २ हजार ७०८ मेट्रिक टन माछा उत्पादन भएकोमा पछिल्लो आर्थिक वर्षमा ५६० हेक्टरमा २ हजार ७४४ मेट्रिक टन माछा उत्पादन भएको छ ।
बर्दिया जिल्लामा आर्थिक वर्ष २०७८–०७९ मा ४२८ हेक्टर क्षेत्रफलमा माछा पालन गर्दा एक हजार ९२७ मेट्रिक टन माछा उत्पादन भएको थियो । आर्थिक वर्ष ०७९–०८० मा ४३४ हेक्टर क्षेत्रफलमा २ हजार ८६ मेट्रिक टन माछा उत्पादन भएको छ ।
बाँके जिल्लामा आर्थिक वर्ष ०७८–०७९ मा २७७ हेक्टर जलाशय क्षेत्रफलमा माछा पालन गर्दा एक हजार ३०३ मेट्रिक टन माछा उत्पादन भएकोमा आर्थिक वर्ष ०७९–०८० मा १९५ हेक्टरमा ९३६ मेट्रिक टन माछा उत्पादन भएको छ । अन्य जिल्लामा जलाशय क्षेत्र र माछा उत्पादनमा वृद्धि भए पनि बाँके जिल्लामा भने क्षेत्रफल र उत्पादन दुवै घटेको निर्देशनालयले जनाएको छ ।
पाल्पा जिल्लामा आर्थिक वर्ष २०७८–०७९ मा १६ हेक्टर क्षेत्रफलमा माछा पालन गर्दा ५० मेट्रिक टन माछा उत्पादन भएको थियो भने पछिल्लो वर्ष १८ हेक्टरमा ५४ मेट्रिक टन उत्पादन भएको छ ।
यस्तै दाङमा आर्थिक वर्ष २०७८–०७९ मा ९५ हेक्टरमा माछा पालन गरिएकोमा ३९९ मेट्रिक टन उत्पादन भएको छ । आर्थिक वर्ष २०७९–०८० मा १०३ हेक्टर जलाशय क्षेत्रफलमा माछा पालन गर्दा ४३२ मेट्रिक टन उत्पादन भएको तथ्याङ्क छ ।
यस्तै आर्थिक वर्ष २०७८–०७९ मा गुल्मी जिल्लामा ११ हेक्टर क्षेत्रफलमा माछा पालन भएको थियो, जसमा २१ टन माछा उत्पादन भएको छ । पछिल्लो वर्ष १२ हेक्टर क्षेत्रफलमा २३ टन माछा उत्पादन भएको छ ।
पहाडी जिल्ला अर्घाखाँचीमा आर्थिक वर्ष ०७८–७९ र आर्थिक वर्ष ०७९–०८० मा माछा पालनको क्षेत्रफल र उत्पादन दुवै बरावर छ । यहाँ दुवै आर्थिक वर्ष ६ हेक्टर क्षेत्रफलमा माछा पालन गर्दा १२ मेट्रिक टन उत्पादन भएको छ ।
यसैगरी प्युठान जिल्लामा आर्थिक वर्ष ०७८–०७९ मा १० हेक्टरमा क्षेत्रफलमा माछा पालन गर्दा १६ मेट्रिक टन उत्पादन भएको छ भने पछिल्लो आर्थिक वर्ष १२ हेक्टरमा १८ मेट्रिक टन माछा उत्पादन भएको छ ।
रोल्पा जिल्लामा आर्थिक वर्ष २०७८–०७९ मा ४ हेक्टर क्षेत्रफलमा ५ मेट्रिकटन माछा उत्पादन भएको छ भने पछिल्लो आर्थिक वर्ष ५ हेक्टरमा ६ मेट्रिक टन माछा उत्पादन भएकोछ ।
पूर्वी रुकुम जिल्लामा पोखरी निर्माण गरेर माछा पालन गरेको तथ्याङ्क भने अहिलेसम्म नरहेको निर्देशनालयले जनाएको छ ।












