पाल्पा– पाल्पा जिल्लाकै सबैभन्दा अग्लो डाँडा कौडेलेक घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर माथागढी गाउँपालिकाले ओलेसमा होमस्टे सञ्चालनको तयारी गरेको छ ।
यहाँ आउने पर्यटकहरुलाई बस्ने व्यवस्थाको उचित व्यवस्थापन नहुँदा पर्यटकहरुको आउने ईच्छ्या हुँदाहुँदै पनि आउन नसक्ने बाध्यतालाई मध्यनजर गर्दै होमस्टे तयारी गरिएको गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले जानकारी दिनुभयो । माथागढी गाउँपालिकामा मगर जातजातीको बाहुल्यता बढी भएकाले घुम्न आउने पर्यटकहरुका लागि मगरी संस्कृती र परम्परा देखाउने तथा मगरी खानेकुरा खुवाउने योजनाका साथ होमस्टे सञ्चालनको तयारी गरिएको अध्यक्ष चिदीले बताउनुभयो ।
समुन्द्र सतहबाट १९५० मिटर उचाई रहेको कौडेलेक पाल्पाकै सबैभन्दा अग्लो डाँडा हो । माथागढी गाउँपालिका वडा नं। ३ ओलेसबाट एक घण्टाको पैदल दुरीमा कौडेलेक पर्ने गर्दछ ।
पर्यटकिय क्षेत्र कौडेलेकमा माथागढी गाउँपालिकाले खानेपानी र विद्युतको व्यवस्थापन गर्ने समेत जनाएको छ । माथागढीको भुपू सैनिक संघले कौडेलेकमा पर्यटन विकासका लागि भ्यू टावर समेत बनाईदिने प्रतिवद्धता जनाएको माथागढी ३ का वडा सदस्य मान बहादुर रानाले जानकारी दिनुभयो ।
ओलसमा होमस्टे सञ्चालनको तयारी भएपछी स्थानीयले पर्यटकको आगमनसंगै होमस्टे व्यवसाय आम्दानीको श्रोत बन्ने अपेक्षा समेत लिएका छन् ।











