पाल्पा–जिल्लाको तिनाउ गाउँपालिकाले निशुल्क आँखाको अप्रेसन गरेको छ। गाउँपालिकाले आयोजना गरेको शिविरमा ९९ जनाको निशुल्क मोतियाविन्दुको अप्रेसन गरिएको हो ।
तिनाउको दोभान स्वास्थ्य चौकीमा दुई दिनसम्म चलेको शिविरमा पहिलो दिन ४२ जना र दोश्रो दिन ५७ जनाले निशुल्क आँखाको मोतियाविन्दुको अप्रेसन गरेका हुन् । पाल्पा लायन्स लाकौल आँखा अस्पतालको प्राविधिक सहयोगमा यही पौष २१ र २२ गते शिविर सञ्चालन भएको थियो । शविरमा पाल्पा लायन्स लाकौल आँखा अस्पतालका ९ जनाले अप्रेसन थियटर निर्माण लगाएत अन्य प्राविधिक सहयोग गरेका हुन् ।
अप्रेसन गर्न आएका ५ जनालाई सुगरको मात्रा बढी भएको र उच्च रक्तचाप भएका कारणले अप्रेसन गर्न नसकिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्कीले जानकारी दिनुभयो ।
शिविरमा रण अम्बिका आँखा अस्पताल भैरहवाकी एसोसियट प्रोफेसर डाक्टर शुशिला पटेलले आँखाको मोतियाविन्दुको अप्रेसन गरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
गाउँपालिकाले टाढाबाट आउने आँखाका विरामीहरुलाई सामान्य बासको व्यवस्था मिलाएको गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले तानसेन र भैरहवा जानुपर्ने आँखाका बिरामीहरुलाई आर्थिक भार नपरोस् र सहज होस् भनेर गाउँपालिकाले नै शिविरको आयोजना गरेको बताउनुभयो ।
निशुल्क आँखाको मोतियाविन्दुको अप्रेसनका लागि सबै वडाबाट बिरामीहरु उपस्थित भएका थिए । गाउँपालिकाले विभिन्न १३ स्थानमा आयोजना गरेको एकिकृत घुम्ती शिविर र एक वटा छुट्टै कार्यक्रम मार्फत बिरामीहरुको पहिचान गरेको थियो ।











