पाल्पा–जिल्लाका दुई ठूला अस्पतालमा सुविधा नपाएपछि स्वास्थ्य बिमा गर्ने बिमितको सङ्ख्या घटेको छ । दुई ठुला अस्पतालले बिमामार्फत हुने उपचार सेवा हटाएपछि पाल्पामा स्वास्थ्य बिमा गर्ने बिमितको सङ्ख्या ह्वात्तै घटेको हो ।
बिमा बोर्ड पाल्पाका अनुसार यो वर्ष बिमा गर्ने चार हजार ३९५ परिवार मात्र छन् । बिमा बोर्ड पाल्पाले आर्थिक वर्षको अन्त्य सम्ममा थप केही बिमितले नवीकरण गर्ने अपेक्षा गरेको छ । चार हजार भन्दा बढी स्वास्थ्य बिमा गरेकामा ज्येष्ठ नागरिक, दीर्घरोगी र सामान्य मानिस छन् । अघिल्लो आ.व २०७९/८० मा ३७ हजार ५४३ परिवारले स्वास्थ्य बिमा गरेका थिए । बोर्डका दर्ता अधिकारी कल्पना बस्यालले आव २०७८/७९ मा ४२ हजार ६४५ परिवारले स्वास्थ्य बिमा गरेकामा पछिल्लो वर्ष बिमा गर्ने बिमितको सङ्ख्या घट्दै गएको जानकारी दिनुभयो ।
जिल्लाको मिसन अस्पतालले छ महिनाअघि बिमा सेवा बन्द गर्ने निर्णय गरेको थियो । यस्तै लुम्बिनी मेडिकल कलेज प्रभासले डेढ वर्षअघि नै बिमा सेवा स्थगन गर्ने निर्णय गरेको बिमा बोर्ड पाल्पाले जनाएको छ । तानसेनस्थित पाल्पा अस्पताल र रामपुर अस्पतालबाट नपाएको सेवा लिन यहाँको मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा बिरामी जाने गरेका थिए । यी दुई ठुला अस्पतालले बिमा मार्फत हुने सेवा बन्द गरेपछि बिमा गर्ने मानिसको सङ्ख्या घट्दै गएको छ ।











