पाल्पा– स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालन गर्न पाल्पाका दुई ठूला अस्पताल र स्वास्थ्य बीमा बोर्ड सकारात्मक देखिएका छन् ।
काठमाडौँबाट आएको बोर्डको टोली र बीमा कार्यक्रम सञ्चालन गरेको पाल्पा अस्पताल तथा कार्यक्रम रोकिएको लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालका प्रतिनिधिबीच छलफल भएको थियो । छलफलका क्रममा जिल्ला अस्पतालको सेवालाई स्तरोन्नती गर्ने त्यसका लागि दुई ठूला अस्पतालहरुले सहयोग गर्ने र रोकिएका दुई ठूला अस्पतालमा छिटो बीमा कार्यक्रम सञ्चालन गर्न दुबै पक्ष सकारात्मक देखिएका छन् ।
सुरु देखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेका लुम्बिनी मेडिकल कलेज शिक्षण अस्पताल र युनाइटेड मिसन अस्पताल तानसेनले बीचमा कार्यक्रमबाट बाहिरिएका थिए ।उनीहरु बाहिरिएपछि बोर्डले दुबै अस्पताललाई सेवा प्रदायक सूचीबाट हटाएको थियो । दुई ठूला अस्पतालहरुले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन नगर्दा बीमितहरु मर्कामा परेका थिए ।
बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले पाल्पाका दुई ठूला अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम छिटै पुन संञ्चालन हुने बताए । डा.लोहनीले दुई मध्ये कम्तीमा एक अस्पतालमा सम्भवत आगामी माघ १ देखि नै बीमा कार्यक्रम पुन सञ्चालनमा आउने तथा अब आउँदा नयाँ मोडालिटिबाट सञ्चालन हुने बताए ।
यसअघि लुम्बिनी मेडिकल कलेजले बीमा कार्यक्रममा पुर्न आवद्धता हुन पाउँ भनेर स्वास्थ्य मन्त्रालय धाईरहेको थियो । यता युनाइटेड मिसनले सेवा बापतको बक्यौता रकम बढदै जाँदा सेवा सञ्चालनमा अप्टेरो परेको र सेवा दिए वापतको सोधभर्ना रकम समेत कमी भएको भन्दै बीमा कार्यक्रम रोकेको थियो । अध्यक्ष डा.लोहनीले ती मागका विषयमा समेत छलफल भएको र छिटै नै समस्या टुंगोमा पुग्ने बताए ।
पाल्पामा स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउन छलफलका लागि बोर्डबाट अध्यक्ष डा.लोहनी, सदस्य डा.मुक्तिराम श्रेष्ठ, कार्यकारी निर्देशक डा.दामोदर बसौला लगायतको टोली आएको थियो ।










