पाल्पा - जिल्लाको पूर्वखोला गाउँँपालिकालाई गोर्खा वेल्फेयर ट्रष्टले झन्डै ७ लाख रुपैयाँ बराबरको आगो नियन्त्रण तथा खोज र उद्धारमा काम लाग्ने विपद् सामग्री हस्तान्तरण गरेको छ ।
ट्रष्टले विपद्का बेला काम लाग्ने आगो नियन्त्रण गर्न आवश्यक सेफ्टि उपकरण, फायर फाइटिङ्ग सुट, हेल्मेट, बुट, टर्च, मास्क, सेफ्टी ग्लास, सिँढी, फायर स्ट्रिङ्गरिसर्ट, फायर बल ,माईक, रेनकोट, हेडलाईटसहित उद्दारमा आवश्यक पर्ने ६२ प्रकारका सामग्रीहरु हस्तान्तरण गरिएको ट्रष्टका इन्जिनियरिङ विभाग पोखराका विभागीय प्रमुख दानबहादुर जिरेलले जानकारी दिनुभयो ।
उहाँले बेलायती सहयोग नियोगको सहयोगमा खानेपानीको क्षेत्रमा लामो समय देखि काम गर्दै आएको र पछिल्लो समय विपद्को क्षेत्रमा समेत काम गरेको बताउँदै पूर्वखोला सहित नेपालका ५ वटा स्थानीय तहमा सामाग्री वितरण कार्यक्रम गरेको बताउनुभयो ।
ट्रष्टबाट जोखिम आंकलन गर्ने तालिम, तथ्याङ्क संकलन अनुसार काम हुँदै आएको ट्रष्टका विपद् संयोजन सुमेरु त्रिपाठीले बताउनुभयो । उहाँले विपद् व्यवस्थापन ऐन २०७४ मा उल्लेख गरे अनुसार पूर्वखोलाको स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रलाई आवस्यक सामाग्री वितरण गरिएको बताउनुभयो ।
विपत्ति आउँछ तर सूचना दिएर आउदैन पूर्व तयारी गर्नु पर्ने हुन्छ भन्ने मान्यतालाई आत्मसाथ गदै आपतकालीन कार्य सञ्चालन केन्दका लागि ट्रष्ट सँग सहयोग माग गरिएको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताउनुभयो । विपद्का बेला खरिद गर्दा समेत आवश्यक सामग्री नपाउने अवस्थामा ट्रष्टले आगो नियन्त्रण र खोज तथा उद्दारका सामग्री उपलब्ध गराउनु सरहानीय कार्य भएको अध्यक्ष थापाले बताउनुभयो ।
पूर्वखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्टले ट्रस्टले उपलब्ध गराएको सामग्रीले नियन्त्रणमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । गाउँपालिकामा वडाध्यक्ष,प्रहरी,पत्रकारलगायतको रोहबरमा सामाग्री हस्तान्तरण गरिएको छ ।












