पाल्पा– तानसेन खानेपानी उपभोक्ता समितिको अध्यक्षमा मोहन प्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । अध्यक्ष पदमा मनोनयन दर्ता गर्ने अन्यले उम्मेदवारी फिर्ता लिएसँगै श्रेष्ठ निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् । उनीसँगै अरू पदमा पनि निर्विरोध निर्वाचित भएका छन् ।
सचिव पदका उम्मेदवार बिष्णु बहादुर कार्कीले पनि उम्मेदवारी फिर्ता गरेका हुन् । पुस १० गते अध्यक्ष र सचिव बाहेका पदमा एक मात्र उम्मेद्धारी परेपछि उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य निर्विरोध भएका थिए । निर्विरोध रूपमा निर्वाचित सम्पूर्ण पदाधिकारीहरूले बिहिबार नै सपथ लिइसकेका छन् ।
तानसेन खानेपानी उपभोक्ता समितिको पुस १४ गते हुन लागेको निर्वाचनका लागि मंगलबार चार जनाले अध्यक्षमा मनोनयन दर्ता गराएका थिए । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले अध्यक्षका लागि प्रज्ञासागर शाक्य, भुगोलप्रसाद बैजु र राजु महर्जनले मनोनयन दर्ता गराएपनि उम्मेदवारी फिर्ता लिएको जनाएको छ ।
अध्यक्षमा श्रेष्ठसँगै उपाध्यक्ष लालमने अदै पुन, सचिवमा प्रेम बहादुर मल्ल, कोषाध्यक्षमा शुसिला श्रेष्ठ कर्माचार्य, सह–सचिव विर्जु खाती र खुला सदस्यमा बसन्त कुमार गहतराज, महेन्द्र खाती, रेनुका बस्याल, महिला सदस्यमा फूलमाया सुनारी निर्वाचित भएका छन् । प्रमुख निर्वाचन अधिकृत दुर्गा बहादुर थापाले नवनिर्वाचित समितिलाइ पद तथा गोपनियताको सपथ गराए ।











