पाल्पा–२०७९ सालको असारमा सम्पन्न गर्ने लक्ष्य राखेको तत्कालीन प्रदेश सरकारको खानेपानीतर्फको गौरवको योजना बिचमा अलपत्र परेको छ । १४ करोड ९३ लाख ४ हजार रुपैयाँ प्रस्तावित गरिएकोमा बगनासकाली कालीगण्डकी बृहत खानेपानी योजना २०७६ सालबाट सुरुवात गरिएको थियो ।
तत्कालीन लुम्बिनी खानेपानीको गौरवको योजनालाई बगनासकाली गाउँपालिका वडा नं. १, २, ३, ४, ५, ६ र ९ वडाका जनतालाई एक घर एक धारा अभियान अन्तर्गत तीन स्टेज विद्युतीय पम्पबाट लिफ्टिङ गरी १ हजार ३ सय ३३ घर परिवारका ६ हजार जनसंख्या लाभान्वित हुने गरी योजना सम्पन्न गरिएको थियो।
३ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेको योजनाको मुख्य पाइपलाइन २७ किलोमिटर र बिस्तारित पाइपलाइन २२ किलोमिटर रहेको योजना रहेको थियो । योजना यम्घाको दर्पुकबाट कालीगण्डकी नदीबाट तीन लिफ्टमा बगनासकालीको डाँडामा पम्पिङ गरेर ग्राभिटी प्रणालीबाट पानी वितरण गरिने मुख्य उद्देश्य रहेको छ । योजनाको भौतिक प्रगति हालसम्म ५० प्रतिशत मात्र पूरा भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका सूचना अधिकारी विष्णु देव ठाकुर बताउँछन् ।
हालसम्म २ लाख लिटरको १ वटा र १ लाख लिटरको २ वटा, ५० लिटर क्षमताको ३ वटा , ३५ हजार लिटर क्ष्मताको १ वटा, २५ हजार लिटर क्षमताको ३ वटा, १५ हजार लिटर क्षमताको ४ वटा, १० हजार लिटर क्षमताको ३ वटा, सहित ४ वटा पम्प घर, एक वटा कार्यालय भवन निर्माण कार्य पूरा भएको दुई आर्थिक वर्ष भयो । मुख्य पाइपलाइन र शाखा लाइनको काम रकम अभावले सुरुवात नभएको कार्यालयका सम्वद्ध प्राविधिकहरु बताउँछन् ।
पछिल्ला वर्षहरुमा सरकारले अत्यन्तै कम रकम विनियोजन गरेका कारण भौतिक पूर्वाधार निर्माण कार्यको रकम भुक्तानी गर्न समेत कार्यालयले नसक्दा निर्माण व्यवसायीले भुक्तानी पाउन नसकेको सम्वद्ध निर्माण व्यवसायीहरु बताउँछन् ।
जनताका लागि भन्दा प्रदेश सभाका सदस्य, राजनैतिक दलका नेताका लागि भोटको राजनीतिले गर्दा प्रस्तावित यस्ता ठुला योजना बिचमा अलपत्र परेका हो । योजना प्रस्तावित गर्नेले बजेट विनियोजनतर्फ लविङ नगर्ने परिपाटीका कारण यस्ता योजनाहरु अधुरै रहेको मन्त्रालयका एक प्राविधिकले बताए । बजेट तयार गर्ने समयमा सांसदहरुले झक्झक्याउनु पर्ने थियो तर निरन्तरता मात्र दिने हुँदा वार्षिक रुपमा २० देखि २५ लाख रुपैयाँ विनियोजन हुने भनेको योजनालाई जिवित मात्र राखेको हो । यस्ता गतिले काम गर्दा लागत समेत बढदै जाने उनले बताए ।
यस योजनाका लागि हाल सम्म पटक पटक गरी ५ करोड रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । योजना सम्पन्न गरी स्थानीय उपभोक्तालाई हस्तान्तरण गरिसक्नु पर्ने समयमा पाइप लाइनको काम विस्तार हुन नसक्नु भनेको अत्यन्त लज्जास्पद रहेको स्थानीयहरु बताउँछन् ।












