पाल्पा – भूकम्पबाट ढलेको भौतिक संरचनाहरु उठाउन पुगेको नेकपा एमाले पाल्पाको टोलीले २ विद्यालयसहित ४३ अस्थायी घर टहरा निर्माण गरी फर्किएको छ ।
भूकम्प प्रभावितहरुलाई सहयोग गर्न पाल्पा निर्वाचन क्षेत्र नं। १ का प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्यको नेतृत्वमा पाल्पाली टोली पश्चिम रुकुमको आठबिस्कोट नगरपालिका वडा नं १३ घेत्मामा मंसिर ५ गतेदेखि १९ गतेसम्म १४ दिनसम्म खटिएर विद्यालयसहित अस्थायी घर टहरा निर्माण गरी फर्किएको एमाले पाल्पाका जिल्ला उपाध्यक्ष देवीलाल लामिछानेले बताउनुभयो ।
पाल्पाली टोलीले २ विद्यालयसहित ४३ अस्थायी घर टहरा निर्माणसंगै १६ वटा भग्नावशेष हटाएर फर्किएको टोली नेता तथा प्रतिनिधिसभा सदस्य नारायण आर्चायले जानकारी दिनुभयो । यहाँले फर्किनेक्रममा जनताको पार्टीका रुपमा स्थापित नेकपा एमाले जुनसुकै ठाउँमा समस्या भएपनि दुखमा साथ दिन आफूहरु निरन्तर खट्ने बताउनुभयो ।
यसका साथै भूकम्प पीडित जनताको जीवन निकै कष्टकर संग बितिरहेको छ । राहत वितरणलाई एकद्वार प्रणालीको नाममा पक्षधरता कायम भएकोले पीडितहरु आक्रोशित भएका छन । पीडितहरुका लागि राहत र पुनस्थापनाका कार्यक्रम तीव्र रुपमा सञ्चालन गर्न सांसद आचार्यले सरकारको ध्यानआकर्षण समेत गराउनुभएको छ ।
प्रतिनिधिसभा सदस्य आचार्यले भूकम्प पीडित क्षेत्रमा स्वयंसेवक रुपमा खट्दा आवश्यक सहजीकरण र व्यवस्थापनमा सहयोग गर्ने नेकपा एमाले रुकुम पश्चिमको जिल्ला कमिटी अध्यक्ष नन्दराम देबकोटासहित सम्पूर्ण टिमलाई धन्यवाद ज्ञापन समेत गर्नुभएको छ ।
टोलीमा सांसद आचार्य सहित एमाले जिल्ला उपाध्यक्ष लामिछाने, लालबहादुर दर्लामी, रोमबहादुर लम्तरी, शंकर गौतम, साबित्रा गुरुङ्ग, राजेश भट्टराई, रमा श्रेष्ठ, कमल भट्टराई, सन्देश ढकाल, सुमन पोखरेल, जीवन घिमिरे, देवबहादुर सारु, लिलबहादुर दिशा, रमेश भट्टराई समेत रहनुभएको छ ।












