
गण्डकी माहात्म्य अनुसार मुक्तिक्षेत्र, रुरुक्षेत्र, रामपुरक्षेत्र र देवघाट हरिहरक्षेत्र समेतको परिसरलाई गण्डकी क्षेत्र मानिएको छ । भगवान नारायणको शरीरबाट उत्पन्न कृष्णगण्डकी (कालीगण्डकी) र भगवान शिवको त्रिशुल प्रहारबाट उत्पन्न त्रिशुलगङ्गा (त्रिशुली) को सङ्गमस्थललाई देवघाट हरिहरक्षेत्र धाम अर्थात श्री महादेवको जटाबाट निस्किएको स्वेत गङ्गा र श्री विष्णुको पसिनाबाट निस्किएको कालीगंगाको एकाकारस्थल, कल्याणकारी पवित्र देवतीर्थ धाम भूस्वर्ग देवघाट हो । माघ महिनाको पहिलो दिन सूर्य मकर राशीमा पदार्पण गर्दा मनाइने मकर संक्रान्ति पर्व देवघाटको अति महत्त्वपूर्ण सांस्कृतिक पर्वको रूपमा रहेको छ ।
आज माघे संक्रान्ति देवघाटमा अपूर्व अद्भूत मेला लागेको छ । म पनि ऐतिहासिक शोध, खोज, सोंच, ओज र अठोटपूर्ण कार्यको लागि देवघाटस्थित चक्रशिला मन्दिर पुगेको छु । माघे जाडो, चिसो मौसम, झमक्क साँझ ढलेर रात परिसकेको अवस्थामा मैले दुवै हात जोडी एक सय आठ पटक चक्रशिला मन्दिर परिक्रमा गरी ढोकामा शिर निहुराई ढोग गर्दा दिव्य आकाशवाणी भयो, ‘‘हे अथक ! तिमी प्रातः मध्यान्ह र साँयकालीन समयमा पनि आएर मेरो परिक्रमा ढोग गरेका थियौ । अहिले रात पर्दा पुनः आएका छौं । के मनसुवाले आएका हौ ? कह वत्स !’’
दिव्य आकाशवाणी सुनेपछि आश्चर्यचकित हुँदै मैले शिर उठाएँ । बन्द भइसकेको मन्दिरको ढोका उघ्रेर भित्र झिलिमिली उज्यालो भइरहेको पाएँ । विस्मित चकित भई बोल्न नसकी दुबै हात जोडिरहेँ । फेरि आकाशवाणी भयो, ‘‘अथक! आऊ, भित्रै आऊ, भन ! के कहन, माग्न आएका छौ ? वत्स कह, माग ।’’
म हात जोड्दै भित्र गएँ चक्रशिलालाई ढोग गरेँ । दुवै घुँडा टेकेर हात जोड्दै बिन्ती गरेँ, “प्रभु, हजुरको निगाहले ममा सम्पूर्ण भरिपूर्ण छ । यो भरिपूर्ण सुख, शान्ति, समृद्धि, पुस्तान्तरणसम्म रहिरहनेछ ।’’
“वत्स तिम्रो मनको कुरा के हो।” चक्रशिलाबाट वाणी आयो ।
“प्रभु, अस्तित्वको खोजीमा आएको हँ ।” मैले भनेँ ।
“अस्तित्व खोजेर पाइने कुरा होइन । वत्स ! यो त भाव अवस्था सत्ता विद्यमानता हो ।” चक्रशिलाबाट दिव्य वाणी आयो ।“प्रभु मलाई सेनकालीन पाल्पाको अस्तित्वको कथा सुन्ने, लेख्ने, सुनाउने र चरितार्थ गराउने मनसुवा छ । कथा आज्ञा होस् प्रभु ।” मैले हात जोड्दै, निहुँरिदै, ढोग गर्दै भनेँ । “वत्स, अस्तित्वको कथा लामो छ । तिमीलाई म अहिले संक्षेपमा मात्रै कहन्छु ।” चक्रशिलाबाट वाणी आयो । “आज्ञा होस् प्रभु ! म कथालाई श्रवण गर्दै विभिन्न अध्यायमा लिपिबद्ध गर्दै अस्तित्व माहात्म्य तयार पार्नेछु ।” भनी मैले झोलाबाट कलम र कागजका पानाहरू निकाली, सजिलोसँग बसी लेख्ने तयारीमा रहेँ ।
चक्रशिलाबाट दिव्य वाणीमा आज्ञा भयो, “हे अथक ! तिमीदेखी म अति प्रसन्त भएँ । सर्वप्रथम यो कथा तिमीलाई नै के हँदैछु । सुन, लेख र चरितार्थ गर ।”
अस्तित्व
सेनाकालीन ऐतिहासिक आख्यान
–पुष्कर अथक रेग्मी