
तानसेन नगरपालिका वडा नं.१० तेल्घाका राम बहादुर कुमालले ब्यवसायी फुलखेतीको सुरुवात गर्नुभएको छ । उहाँले बजारमा विशेष गरी चाडपर्वको बेला कृत्रिम रबरका फुल तथा मालाले बर्चस्व कायम गरिरहेको अवस्थामा ति फुललाई निरुत्साहित गर्न व्यवसायीक रुपमा फुल खेती गरेको बताउनुभयो । उहाँले फुलकै लागि लाखौँ पैसा बाहिर गईरहेको समयमा आफुले उत्पादन गरेको फुलहरुले बाहिरबाट भित्रिने कृत्रिम फुलमा आयत कमि हुने बताउनुभयो । पहिलो पटक ७ हजार सयपत्रीका बोटहरु रोपेकोमा केही रोग लागेर मर्दा ६ हजार जति बोटहरु रहेको कुमालले जानकारी दिनुभयो। उहाँले ८० हजारको लागतमा ६ रोपनी क्षेत्रफलमा फुलखेती गर्दै आएको जानकारी दिनुभयो । यहाँ उत्पादन भएका फुलहरु पाल्पामा मात्र नभई बाहिर जिल्लामा पनि निर्यात गरेको उहाँको भनाई छ ।
“जिल्लामा १२ महिना नै फुलको माग भएकाले बाहै्र महिना नै फुल उत्पादन गर्ने थालेको छु” कुमालले भन्नुभयो। सयपत्री मात्रै नभएर अरू फुल पनि उत्पादन गर्ने सोचमा रहेको कुमाल बताउनुभयो ।त्यसै गरेर विभिन्न औपचारिक कार्यक्रम, विवाह, पुजाआजाका लागि फुलको माग हुने गरेको उहाँको भनाइ छ । थोरै लगानीबाट राम्रो आम्दानी गर्ने सकिने भएकाले यसतर्फ लाग्न समेत आग्रह गर्नुभयो । उहाँले हालसम्म नगरपालिका,वडा कृषि ज्ञान केन्द्रबाट कुनै प्रकारको सहयोग प्राप्त गर्ने नसकेको बताउनुभयो ।
जिल्लाको तानसेन,रामपुर, पुर्वखोला, बगनासकाली,रम्भा र माथागढीमा फूलखेती व्यवसाय गर्नेहरुको संख्या बढ्दै गएको छ ।नेपाल कृषि प्रदान देश भनिएता पनि स्थानिय सरकारले चासो दिन् नसकेको कृषकको गुनासो रहेको छ ।













