पाल्पा– जिल्लाको माथागढी गाउँपालिका–४ झडेवा स्थित रत्न माध्यमिक विधालयले रत्न स्काउट ट्रुपको प्रथम स्काउट दिक्षान्त समारोह सम्पन्न गरेको छ । स्काउट दिक्षान्त समारोहको उद्घाटन माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले गर्नु भएको थियो ।
आईतबार रत्न स्काउट ट्रुप दलको आयोजना र रत्न माध्यमिक विधालयको व्यवस्थापनमा एक कार्यक्रमको आयोजना गर्दै प्रथम स्काउट दिक्षान्त समारोहमा विद्यालयका ३२ जना विद्यार्थीलाई दिक्षित गरिएको हो ।
दिक्षान्त समारोहका प्रमुख अतिथि माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले माथागढी गाउँपालिका भित्रको पहिलो कार्यक्रम रहेको र पालिका भित्र स्काउटिङ्ग शिक्षाको विकासमा जोड् दिने बताउनुभयो । उहाँले स्काउटले विधार्थीलाई अनुशासनमा बाध्नुका साथै मानवता, असल शिक्षा र संस्कार सिकाउने बताउनुभयो।
रत्न स्काउट ट्रुप संयोजक तथा संरक्षक विद्यालयका प्रधानाध्यापक नीर बहादुर सारूले विद्यार्थीहरूलाई अनुशासन र स्वलम्ब का क्रियाकलाप सिकाउँदै उनीहरूको शारीरिक, मानसिक र सामाजिक भावनालाई उजागर गर्न कार्यक्रम गरिएको बताउनुभयो ।
दीक्षान्त समारोहमा रत्न स्काउट मास्टर खेम बहादुर ठाडा र सहायक मास्टर सरिता जी.सी.ले स्काउट ब्याज, मेम्बर सीप ब्याज, तथा वजम र वाक्स ब्याज वितरण गर्नुभएको थियो भने स्काउट छात्रा र छात्र ट्रुपलाई दीक्षित गरिएको थियो ।













