पाल्पा- जिल्ला प्रहरी कार्यालय पाल्पाले अवैध रुपमा जिल्लामा भित्रिदै गरेको दुई लाख ७६ हजार बराबरको अबैध सामाग्री बरामद गरेको छ ।
जिल्लाको तिनाउ गाउँपालिका -३ मा बुटवलबाट पाल्पा आउँदै गरेको वाग्मती प्रदेश ०१०२५ च १९८७ नम्बरको पिक अप भ्यानमा जाँच गर्दा क्यास्टिक सोडा आठ बोरा , टायल क्लिनर ४ सय १ पिस, फिनेल ७४ पिस, हर्पिक २० सामान गरी ८७ हजार ६ सय ६० मूल्य बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
यस्तै तानसेन नगरपालिका-६ बसपार्कबाट बिल भौचर नभएका प्लास्टिकका गमला ४ सय ८६ थान, प्लास्टिकको पिर्का १ सय २० थान, प्लास्टिकको जाली सहितको भाँडा राख्ने गमला ४० थान, प्लास्टिकको म्याट २ सय ४० थान बरामद गरेको प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार लु ३ च १०७० नम्बरको पिक अप भ्यानबाट १ लाख ८८ हजार २ सय रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।
सो सामग्रीसहित भ्यानका चालक र सवारीलाई पनि नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाएको पाल्पा प्रहरीले जनाएको छ ।













