विश्वकै ठूलो अर्थतन्त्र भएको छिमेकी मुलुक चीनबाट नेपालले आफ्नै कमजोरीका कारण अपेक्षाकृत सहयोग र लाभ लिन चुकेको सरोकारवालाहरुले बताएका छन् ।
चीनको ७४औं राष्ट्रिय दिवसको अवसरमा नेपाल-चीन मैत्री समाज लुम्बिनीले बुटवलमा गरेको अन्तरक्रियामा बोल्ने वक्ताहरुले चीनले नेपालको औद्योगिक विकासका लागि स्थापना गरिदिएका उद्योगहरु राम्ररी चलाउन नसकेर बन्द गर्नु, नेपालको राजनीति सधैं अस्थिर भइरहनु, परराष्ट्र नीति सन्तुलित र विश्वसनीय बनाउन नसक्दा सबै भन्दा नजिकको छिमेकी चीनबाट आर्थिक सहयोग र लगानी भित्राउन नसकेको टिप्पणी गरे । सो अवसरमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले नेपालको छिमेकी मुलुक चीनबाट नेपालले अपेक्षाकृत लाभ लिन चुकेको बताएका छन् ।
शेरचनले चीन नेपालको असल र सहयोगी छिमेकी भएपनि नेपालको आफ्नै कमजोरीका कारण अपेक्षाकृत लाभ लिन नसकिएको औंल्याए । नेपाल-चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायण सापकोटाले चिनसंग सरकारी तह र जनस्तरमा पनि सम्बन्ध विस्तार गरी नेपालमा चिनिया लगानी भित्राउन र १५ करोड चिनियां बौद्धमार्गीलाई बुद्ध जन्मस्थल लुम्बिनीमा आकर्षित गर्न समाजले सरोकारवाला निकायसंग सहकार्य गरिरहेको बताए ।
अन्रतक्रियामा लुम्बिनी स्थित चिनिया बिहारका भिक्षु, लुम्बिनी बौद्ध विश्व विद्यालयका रजिष्ट्रार तिलक आचार्य,प्रा.डा. कपिलदेव लामिछाने,डा. ऋषिराम शर्मा,डा. सागर न्यौपाने,उद्योगीहरु उज्ज्वल कसजू, एजाज आलम,टंक पोखरेल,प्राज्ञ बुंद राना लगायतले चीनको राष्ट्रिय दिवसमा एक साता लामो विदा हुने भएको तयो अवधिमा चिनिया पर्यटकलाई नेपाल भित्राउन विशेष योजना र प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराए ।













