साउन २१ । लुम्बिनी प्रदेश सभाले स्थानीय तहसंग प्रदेश सभा कार्यक्रम ल्याउने तयारी गरेको छ । आइतबार बुटवलमा पत्रकारहरुसंग कुरा गर्दै सभामुख तुलाराम घर्तीले कानुन निर्माणमा समन्वय गर्ने उद्देश्यले कार्यक्रम ल्याउने तयारी गरीएको जानकारी दिए । संविधानले संघीय‚प्रदेश र स्थानीय सरकारलाई आवश्यक कानुन निर्माणको अधिकार दिए पनि समन्वयको अभावका कारण कानुन बाझिने समस्या देखिएकोले यसको समाधानका लागि बिज्ञसहितको अध्यन समिति निर्माण गर्न लागिएको उनले बताए । प्रदेशले निर्माण गर्ने कानुनको बिषयमा संघीय सरकार वेखबर हुने र स्थानीय सरकारले निर्माण गर्ने कानुनको बिषयमा प्रदेश सरकार वेखबर हुने अवस्था रहेको उल्लेख गर्दै सभामुख घर्तीले कानुनको तुलनात्मक अध्ययन गर्ने समयन्त्र आवश्यक भएको बताए । प्रदेश सभाले लुम्बिनी प्रदेशको पहाडी जिल्लामा जिल्लास्तरमा र मधेसका जिल्लाहरुमा पालिकास्तरमा कार्यक्रम गर्ने योजना रहेको जानकारी दिए । कार्यक्रममा सहभागि पत्रकारहरुले लुम्बिनी प्रदेश कानुन निर्माणमा अग्रस्थानका रहे पनि कार्यान्वयनको अवस्था दयनिय रहेको भन्दै कार्यान्वयन पक्ष सुधार गर्न सुझाब दिएका थिए । कानुनको बिषयमा प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरु जानकार नहुँदा कानुन बाझिने समस्या रहेकोले प्रशिक्षण गर्नु आवश्यक रहेकोमा पत्रकारहरुले जोड दिएका थिए । लुम्बिनी प्रदेश सभाले अहिले सम्म ५० वटा कानुन बनाइसकेको छ । प्रदेशका कतिपय स्थानिय तहले कानुन नै बनाउन सकेका छैनन भने कतिपयको लिखित दस्तावेज समेत नरहेको स्वयम सभामुख घर्तीले स्वीकार गरेका छन् । स्थानीय सरकारसंग न्यायपालिका‚कार्यपालिका र व्यवस्थापिकाको पनि अधिकार हुँदा स्वविवेकले काम गर्ने अवस्था बनेको उनको बुझाई छ । कार्यक्रमको औपचारीक घोषणा हुन भने बाँकि छ । प्रदेश राजधानी राप्ती उपत्यकामा पत्रकार सम्मेलन गरेर कार्यक्रमको औपचारीक घोषणा गर्ने तयारी गरीएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुनले जानकारी दिए ।













