

पाल्पा
पाल्पाको रम्भा गाउँपालिका–३, स्थित पिपलडाँडाको बेलपानी–मौलाथर सडक छेउमा एकै दिन दुई हजार विभिन्न प्रजातिका बिरुवा रोपिएको छ । मोटरबाटोको छेउमा सफेदा, बकाइनो, अशोका, लहरेपिपल, अमला, तेजपात, कागती लगायतका बिरुवा रोपिएको हो । सिद्धार्थ राजमार्गको पिपलडाँडा खहरेखोला खेत क्षेत्रमा अशोका, चुकाहा घुम्तीमा लहरेपिपल, बकाइनो, सफेदा, जुईडाँडामा अशोका र लहरेपिपल रोपिएको छ ।
तिवारीमोडदेखि घोरलोटेसम्म बकाइनो, तेजपात, लहरेपिपल, अशोका लगाइएको छ । यस्तै, मिलदेखि कुँवबेरीडाँडा साथै चण्डीथानसम्म पनि विभिन्न बिरुवा रोपिएको छ । वृक्षरोपण कार्यक्रम सुरुआत गर्दै रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले मोटरबाटो खन्दा वन तथा वातावरणीय पक्षलाई जोगाउन नसक्दा नोक्सानीलाई परिपूर्ति गर्न वृक्षरोपणले सहयोग पुगेको बताए । मौलाथरबाट झेस्काङ हुँदै माथिल्लो फाँट पुग्ने सडक निर्माणका लागि खेलेको भूमिकाको उनले प्रसंशा गरे । ‘सडक छेउमा हरियाली बनाउन विभिन्न जातका बिरुवा रोपेर अर्को उदाहरणीय कार्य भएको छ,’ उनले भने ।
रम्भा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तुजंग रानाले मोटरबाटो सबैका लागि आवश्यक भएको बताए । ‘यसका लागि उपभोक्ता समितिको अध्यक्ष बन्नु चुनौतीका बीच राम्रो काम भएको छ,’ उनले भने, ‘विगतका दिनलाई सम्झेर अहिलेको सुविधा र सँगै वृक्षरोपण अभियान देख्दा धेरै खुसी लागेको छ ।’ पिपलडाँडाको रिङरोडका रुपमा चिनिने बाटोमा वृक्षरोपण गर्दा वातावरण सुधार्न सहयोग पुगेको वडाध्यक्ष थमनबहादुर गाहाले बताए । ‘आगामी दिनमा यस सडकको पुरै क्षेत्रमा यस्तैगरी बिरुवा लगाउन पर्छ भन्ने भावना प्रेरित भएको छ,’ उनले भने । मोटरबाटो स्तरोन्नती उपभोक्ता समितिका अध्यक्ष केशवराज भण्डारीले जन्मदिनको अवसरमा निजी लगानीमा बिरुवा व्यवस्थापन गरेका हुन् ।
भण्डारीले केही बिरुवा डिभिजन वन कार्यालय र भुः तथा जलाधार व्यवस्थापन कार्यालय पाल्पाबाट र सरकारी निकायमा नपाइने अशोका, लहरेपिपल लगायतका बिरुवा आफैले खरिद गरेका हुन् । ‘ढुक्क हुनु भए हुन्छ, अहिले रोपेका बिरुवा हुर्केका देख्न पाइनेछ,’ उनले भने, ‘ज्यालादारीमा हेरालु राखेर पनि रोपिएका बिरुवा हुर्काइनेछ ।’ वृक्षरोपणमा पिपलडाँडा, मौलाथर लगायतका गाउँका ३ सय बढी उपभोक्ता सहभागी थिए । साथै सशस्त्र प्रहरी बल तानसेन, पालिका र वडाका जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी लगायतको सहभागिता थियो ।
वृक्षरोपणको खुसीयालीमा पिपलडाँडा मौलाथरको झ्याउरे नाचसमेत नाच्दै गाउँदै हिँडेका थिए । ‘हाम्रो गाउँमा यसरी ठूलो संख्यामा वृक्षरोपण कहिल्यै भएको थिएन,’ स्थानीय निरमाया थापाले भनिन्, ‘यसैको खुसीयालीमा रमाइलो गरेका हौं ।’