पाल्पा रामपुर -राष्ट्रिय भूमि आयोग पाल्पाले बुधबार रामपुर नगरपालिका भित्रका ३ सय ५४ अव्यवस्थित नागरिकलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरेको छ । २०२५ साल देखि अव्यवस्थित बसोबासको समस्या रहेको रामपुरमा दोस्रो चरणमा जेष्ठ ३ गते र पहिलो चरणमा गत पुस ८ गते २ सय ६२ जना अव्यवस्थित नागरिकलाई पूर्जा वितरण गरेको थियो ।
जग्गा धनी प्रमाण पूर्जा वितरण गर्दै राष्ट्रिय भूमि आयोगका केन्द्रिय उपाध्यक्ष एवं प्रवक्ता नहेन्द्र खड्काले , आयोगले भूमि हिनताको अन्त्यको लागि देश व्यापीरुपमा अभियान अघि बढाईरहेको बताउनुभयो । उहाँले स्थानीय सरकारको साथ पाएमा अबको २ वर्ष भित्र नेपाललाई भूमिहिन र सुकुम्बासी मुक्त बनाउने उद्घोष गर्नुभयो ।उहाँले भन्नुभयो, भूमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको भूमि सम्बन्धी समस्यालाई अन्त्य गर्न, नेपाललाई भूमिहिनता र सुकुम्बासी मुक्त देश बनाउनका निमित्त लागि रहेका छौं ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाल्पाका अध्यक्ष मोहन लाल गैरेले हाल सम्म गरी ६ सय १६ वटा लालपूर्जा वितरण भएको बताउँदै रामपुरको अव्यवस्थित बसोबासीको समस्या धेरै पहिले देखिको भएकाले प्राथमिकताका साथ अघि बढाएको जानकारी दिनुभयो । राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाल्पाका विज्ञ सदस्य कृष्ण प्रसाद अधिकारीले सबैको साथ र सहयोगले हाल सम्मको उपलब्धी प्राप्त भएको बताउनुभयो ।
रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले नगर आयोग साथमा लिएर अघि बढेको बताउनुभयो । उहाँले प्राप्त जग्गाको श्रेस्ता कायम छिटो गर्न अनुरोध गर्दै त्यस पश्चात नगरपालिकाले घरहरुको अभिलेखिकरण गर्ने बताउनुभयो ।













