
प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको प्रथम साधारणसभा दाङकाे भालुबाडमा सम्पन्न भएकाे छ । सभामा ११ बूँदे घोषणापत्र जारी गरिएकाे थियाे घोषणापत्रमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन, साना मिडिया प्रवद्र्धन, प्रदेश विज्ञापन बोर्ड गठनदेखि सुशासनका विषयसमेत समेटिएका छन् ।
साधारणसभाले श्रमजीवी पत्रकार ऐन कार्यन्वयन नभएकोप्रति संगठनको ध्यानाकर्षण भएको भन्दै पत्रकारको न्यूनतम पारिश्रमिक पूर्णरुपमा लागू गर्न जोडदार माग गर्दै लागु नगर्ने सञ्चार गृहलाई सरकारले प्रदान गर्ने सेवा सुविधा कटौती गर्न माग गरेको छ । त्यस्तै सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित मिडियाहरुमा पूर्ण समावेशीकरण लागु गर्न, महिला दलित जनजाति तथा सीमान्तकृतले सञ्चालन गरेका साना तथा स्वरोजगारमूलक मिडियालाई विशेष प्रोत्साहन गर्न तिनै सरकारसँग माग गर्दै महिला पत्रकारलाई पत्रकारिता क्षेत्रमा टिकाइराख्न सम्बद्ध पक्षसँग माग गरिएको छ ।
त्यस्तै नेपाल पत्रकार महासंघले अघि सारेको सदस्यता शुद्धिकरण अभियानको स्वागत गर्दै नयाँ क्रियाशील पत्रकारहरुलाई महासंघको सदस्यता दिलाउन भूमिका खेल्ने, मिडियाको वर्गीकरणको आधारमा दिइँदै आएको लोककल्याणकारी विज्ञापनलाई बृद्धि गरी समानुपातिक विज्ञापन प्रणाली लागु गर्न, प्रदेशमा विज्ञापन बोर्ड गठन गरी श्रमजीवी पत्रकारहरुले सञ्चालन गरेको साना तथा स्वरोजगारमूलक मिडियाको प्रवद्र्धन गर्न, प्रदेश सरकारले मिडियालाई दिदै आएको अनुदानलाई व्यवस्थित र दिगो बनाउन मिडिया कोष स्थापना गर्न भनिएको छ ।
घोषणापत्रमा मुलुकमा व्याप्त भ्रष्टाचार, अनियमितता न्यूनीकरण गरी मुलुकमा सुशासन, जवाफदेहिता र पारदर्शिता कायम गर्न सरकारले चालेको कदमको स्वागत गर्दै महंगी, बेरोजगारी अन्त्य गर्न माग गर्दै नागरिक अधिकार, प्रेस स्वतन्त्रता, सूचनाको हक तथा श्रमजीवी पत्रकारहरुको हक र मिडिया प्रवद्र्धनका लागि पत्रकारसम्बद्ध सबै संस्थाहरुसँग सहकार्य गर्ने प्रतिबद्धता समेत गरिएको छ ।
यसैगरी घोषणापत्रमा लुम्बिनी प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीको बृहत्तर विकासका लागि सञ्चारक्षेत्रबाट साथ समर्थन र सहयोग गर्ने, राजधानी गुरुयोजना अनुसार भौतिक पूर्वाधार निर्माणको काम यथाशीघ्र अघि बढाई राजधानीलाई व्यवस्थित गर्न आग्रह गरिएको छ।
प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष मानसिंह विश्वकर्माको अध्यक्षतामा भएको साधारणसभामा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी सोनाम, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महरा उपस्थित रहेकाे थियाे ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा (जुगल) सहित माओवादी केन्द्र तथा प्रेस सेन्टर नेपालका विभिन्न तहका प्रतिनिधिहरुले पत्रकारहरुले सुशासन र विकासका पक्षमा निरन्तर सकारात्मक खबरदारी बढाउनुपर्नेमा जोड दिदैँ मुलुकमा हरेक क्षेत्रमा अराजकता बढेको भन्दै पत्रकारहरुले सत्यतथ्य उजागर गरेर त्यसलाई नियन्त्रण गर्न भूमिका खेल्नुपर्ने आवश्यकता रहेकाे बताए । कार्यक्रम मुल्यङकनकाे आधारमा क्रियशिल पत्रकार जिल्ला शाखा र पालिका शाखालाई समेत सम्मान गरिएकाे थियाे ।