बुटवल, चैत २३ ।
नेकपा एकिकृत समाजवादी रुपन्देहीले पार्टी संगठनलाई तल्लो तहसम्म लैजाने गरि अभियान सञ्चालन गर्न आग्रह गरेको छ । समाजवादी रुपन्देही जिल्ला सचिवालयको विहिबार बुटवलमा बसेको बैठकले पार्टीले सञ्चालन गरेको संगठन सुदृढीकरणका लागि बिशेष अभियानलाई तिव्रता दिदै नागरिकका जनसारोकारको मुद्धालाई आधार बनाएर पार्टी गतिविधि सञ्चालन गर्न पालिका, वडा र टोल कमिटिलाई आग्रह गर्ने निर्णय गरेको हो ।
केन्द्रीय कार्यक्रम अनुसार नेकपा एकिकृत समाजवादीले रुपन्देहीमा बिशेष अभियान अन्तर्गत, भेला, बैठक, छलफल, जनसंगठन निर्माण एंव विस्तारलाई तिव्रता दिदै आएको छ । विहिबारको सचिवालय बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य एंव रुपन्देही इन्चार्ज राजु गुरुङले अब जनताको जनजीविकाका मुद्धालाई लिएर जनताको घरघरमा पुग्न नेता कार्यकर्तालाई आग्रह गरे । उनले कम्यूनिष्ट पार्टीका कार्यकर्ता, पद, प्रतिष्ठामा भन्दा जनताको विचमा जानुपर्ने बताउँदै बिशेष अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
बैठकमा नेकपा एसका केन्द्रीय सदस्य एवं संगठन सुदृढीकरण विशेष अभियान रुपन्देहीका अनुगमनकर्ता यादव बहादुर रायमाझी, केन्द्रीय सदस्य एंव प्रदेश सांसद भगवती घिमिरे लगायतका नेताहरुले पार्टी संगठन सुदृढीकरण विशेष अभियान पार्टी बलियो बनाउने अभियान भएकाले सबै तल्लो तहसम्म लाग्नुपर्नेमा जोड दिए । बैठकले जिल्ला कमिटि सदस्यमा मनोज रिजाल, धिरेन्द्रनाथ त्रिपाठी मनोनयन गर्ने निर्णय गरेको अध्यक्ष अविराम विकले जानकारी दिए । बैठक अध्यक्ष विकको अध्यक्षता, सचिव सरिता श्रीसको सञ्चालन एंव उपसचिव मिरा श्रेष्ठको स्वागतमा सम्पन्न भएको थियो ।












