चैत्र ८, पाल्पा
तानसेन नगरपालिकाले कुहिएको मकैको बीउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा वितरण गरेको मकैको बीउ कुहिएको पाइएको हो । नगरपालिकाका भित्रका विभिन्न वडाहरुमा वितरण गरिएको साढे ६ टन मनकामना–३, जातको मकैको बीउ कुहिएको तानसेन–९, का किसान दिनेश पाण्डेयले बताउनुभयो ।
नगरपालिकाले अनुदानमा वितरण गरेको मकैको बीउ नाथ्रा कुहिएको छ पाण्डेयले भन्नुभयो तत्काल छानविन गर्नुपर्छ । पाण्डेयले कुहिएको मकैको बीउ कसले बेचेको हो , कसले किनेको हो, यस्तो बीउ उम्रन्छ भन्दै प्रश्न गर्नुभएको छ ?
तानसेन नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर नगरका अधिकांश वडाहरुमा मकै तथा अन्य तरकारीका बीउ वितरण गरिरहेको छ । तर मकैको बीउ कुहिएको बाँडिएपछि किसान आक्रोशित बनेका छन् । बाँडिएको मकैको बीउ ७५ प्रतिशत उम्रन नसक्ने खालको रहेको किसानको भनाई छ ।
तानसेन नगरपालिकाले भने मकैको बीउ शिवगुफा साना किसान सहकारी संस्था लिमिटेड जुगरा–४, रोल्पाबाट आएको जनाएको छ । यद्यपी यो बीउ ढुवानी तथा नगरपालिकालाई उपलब्ध गराउने जिम्मा भने तानसेनस्थित भण्डारी एग्रोभेट सेन्टरले लिएको नगरपालिकाका कृषि शाखाका नायव सहायक प्राविधिक सरोज तिमिल्सिनाले जानकारी दिनुभयो ।
नगरपालिकामा सात टन मकैको बीउ ल्याउने जिम्मा तानसेनको भण्डारी एग्रोभेट सेन्टरको हो भनी तिमिल्सिनाले बताउनु भयो । केही बोरा मकैको बीउ कुहिएको भेटियो उहाँले भन्नुभयो कुहिएका बीउ फिर्ता गराउँछौँ । नगरपालिकाका अनुसार प्रतिकेजी १२० रुपियाँ मकैको बीउको
परेको छ । जसमा नगरपालिकाको ६० र किसानको ६० रुपियाँ परेको छ । केही किसानले मकैको बीउ वितरणमा तानसेनका सप्लायर्सको बदमासी हुन सक्ने बताएका छन् ।
तानसेन नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले भने कुहिएको मकैको बीउ वितरण भएको भन्ने गुनासो किसानबाट आएको बताउनुभयो । उहाँले वितरण भएको केही बीउमा समस्या भएको हुन सक्ने बताउनुभयो । मकैको बीउ कुहिएको विषयमा छानविन गरेर अगाडि बढ्ने आचार्यले बताउनुभयो । नगरपालिकाले हालसम्म साढे ६ टन मकैको बीउ वितरण गरिसकेको छ ।
तानसेन नगरपालिका वडा नं. ९ का अध्यक्ष राजेशकुमार अर्यालले नगरपालिकाले खरिद गरेर वडालाई उपलब्ध गराएको मकैको बीउ वितरण गरिएको बताउनुभयो । वितरण भएको मकैको बीउ कुहिएको भनेर किसानको गुनासो आएको वडाअध्यक्ष अर्यालको भनाइ छ ।













