पाल्पा चैत ८, पाल्पा । लामो समयदेखि अलपत्र अवस्थामा रहेको चिलाङ्दी चापपानी–राम्दी सडक निर्माणको काम यही चैत १२ गते आइतवारबाट सुरु गर्ने निर्माण व्यवसायीले प्रतिवद्धता व्यक्त गरेका छन् ।
बगनासकाली गाउँपालिकाको समन्वयमा जिल्ला प्रशासन कार्यालयमा बुधवार भएको छलफलका क्रममा निर्माण व्यवसायी वाइ.पी.÷जय रक्तकाली जे.भी.पुल्चोकका प्रतिनिधि राम प्रसाद भट्टले आइतवारबाट स्थलगत रुपमा काम सुरु गर्ने बताउनुभयो । “म आइतवारबाट काम सुरु गर्छु ।” भट्टले छलफलका क्रममा प्रतिबद्धता जनाउनुभयो ।
छलफलमा प्रतिनिधिसभा सदस्य ठाकुर गैरेले यो बाटोको स्तरोन्नतीको काम सम्झौता भएको ७ वर्ष सम्म पनि सम्पन्न हुन नसक्नु दुखद भएको बताउनुभयो । अव काममा ढिलाई गर्न नहुने उल्लेख गर्दै उहाँले निर्माण व्यवसायीलाई काम गर्दा यस क्षेत्रका नागरिकहरुबाट हुनुपर्ने सम्पूर्ण सहयोग रहने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले निर्माण व्यवसायीले प्रतिबद्धता गरेको मितिबाट काम सुरु भए नभएको अवलोकनका लागि आफू स्वयम् स्थलगत रुपमा पुग्ने बताउनुभयो । बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले यो बाटोको स्तरोन्नतीको काम समयमा हुन नसक्दा बाटो थप जीर्ण बन्दै गएको र स्थानीय समुदायबाट पनि बाटोको काम समयमा गराउन पालिकमा समेत दवाव आएको बताउनुभयो । “अव पहिले जस्तो ढिलाई गरेर हुँदैन, काम तत्काल सुरु हुनुपर्छ ।” उहाँले भन्नुभयो ।
गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले निर्माण व्यवसायीले हुन्छ हुन्छ भन्दै धेरै वर्ष आलटाल गर्दै आएकोले यसअघि बनेको बाटो समेत बिग्रदै गएको बताउनुभयो । उहाँले निर्माण व्यवसायीले काम गर्दा स्थलगत रुपमा गर्नुपर्ने सहयोगका लागि गाउँपालिका तयार रहेको बताउनुभयो । सडक पूूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख अरुण गुप्ताले कार्यालयको तर्फबाट आर्थिक तथा अन्य विषयमा कुनै समस्या नरहेको निर्माण व्यवसायीले काम गर्दा काम अनुसारको भुक्तानी दिन सकिने अवस्था रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिनाले यो बाटोको स्तरोन्नतीको काममा भएको ढिलाईले आम नागरिकहरु सहज बाटोको उपयोगबाट बञ्चित हुनुपरेको बताउनुभयो । यो बाटोको काम पहिलो चरणमा २०७५ साल बैशाखमा महिनामा मालारानीदेखि गेझासम्म झण्डै ४ किलोमिटर पिच भएपनि उक्त बाटो पनि यो बीचमा जीर्ण भइसकेको छ । गेझादेखि गरनडाँडा सम्मको बाटोमा निर्माण व्यवसायीले बेला बेला काम गरेपनि काम पुरा नगर्दा बाटो पुरानै अवस्थामा फर्किएको छ ।
८ किलोमिटर सडक कालोपत्रे गर्न २०७३ असोज १९ गतेदेखि काम सुरु गरेर २०७४ पुस २० गते सम्पन्न गर्नेगरि २०७३ असोज ४ गते तत्कालीन जिल्ला प्राविधिक कार्यालय पाल्पा र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । विश्व बैंकको ८ करोड ३१ लाख रुपैयाँको सहयोगमा एसएनआरटिपि परियोजना मार्फत चापपानीको ठकुरीबारीबाट गरनडाँडासम्मका लागि पिच गर्ने गरि निर्माण व्यवसायी कम्पनीले जिम्मा लिएको थियो ।
चिलाङ्दी चापपानी तथा राम्दी सडक उत्तरी पाल्पाको प्रमुख सडकको रुपमा रहेको छ । सडक पूर्ण रुपमा पिच भएपछि तानसेन आर्यभञ्ज्याङ्ग राम्दी सडकको बैकल्पिक मार्गको रुपमा चिलाङदी चापपानी सडकलाई प्रयोग गर्न सकिने छ । सिद्धार्थ राजमार्गको तानसेन राम्दी भन्दा यो सडक १५ किलोमिटर छोटो दुरीमा रहेको छ । उत्तरी पाल्पाका जनताहरु स्याङ्जा गल्याङ, वालिङ तथा पुतलीबजार पोखरा लगायतका स्थानमा आवतजावतको लागि यो सडक प्रमुख मार्गको रुपमा रहने छ । फोटो फाइल













