पाल्पा २९ माघ ।
बेथल बोर्डिङ सेकेण्डरी स्कूलले आफ्नो २६औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।
विद्यालयका कार्यवाहक प्रिन्सिपल रुपचन्द्र थापाले विद्यालयको वार्षिक शैक्षिक प्रतिवेदन वार्षिकोत्सव समारोहमाका विच प्रस्तुत गरेका थिए । थापाले विद्यालयले समय सापेक्ष, प्रविधिमैत्री र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए । विद्यालयले हालसम्म विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्डहरुसँगै तेक्वान्दो लगायतका खेलकुदमा समेत धेरै पदकहरु प्राप्त गरेको कार्यवाहक प्रिन्सिपल थापाले जानकारी गराए । उनले विद्यालयले चालु शैक्षिक सत्रमा जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई २७ लाख ३५ हजार ६ सय ८९ रुपैयाँ बराबरको निःशुल्क छात्रवृत्ति प्रदान गरेको समेत जानकारी गराएका थिए।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री वीर बहादुर रानाले तानसेनको शैक्षिक क्षेत्रमा बेथल स्कुलको भूमिका महत्वपूर्ण रहेको बताए । उनले आगामी दिनमा समय सापेक्ष रुपमा विश्व बजारमा बिक्ने शिक्षा प्रदान गर्न आग्रह समेत गरेका थिए ।
ुसमारोहका विशिष्ट अतिथि प्रदेश सभा सदस्य खेम बहादुर सारुले अब संस्कार सहितको समय सापेक्ष व्यवसायिक र प्राविधिक शिक्षामा विद्यालयले जोड दिनुपर्ने बताए । सारुले पाल्पाको शैक्षिक विकासमा संस्थागत विद्यालयको योगदान महत्वपूर्ण रहेको समेत बताएका हुन् ।
कार्यक्रममा विद्यालय संचालक समितिका उपाध्यक्ष त्रिलोचन पौडेल, प्याब्सन पाल्पाका अध्यक्ष महेशमान बज्राचार्य, प्याब्सनका पूर्व केन्द्रीय सदस्य भरतप्रसाद न्यौपाने, उद्योग बाणिज्य संघ पाल्पाका महासचिव समिरमान सिं, प्याब्सनका नगर अध्यक्ष गंगा बहादुर खत्री, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिना, पाल्पा व्यापार संघका प्रतिनिधि बालकृष्ण भण्डारी, अभिभावक राजेन्द्र खड्का, बेथल भुपु विद्यार्थी समाजका उपाध्यक्ष लिनिसा गाहा, विद्यार्थी बिरिश सारु लगायतले विद्यालयको प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयमा गठित बेथल भुपु विद्यार्थी समाजले जेष्ठ अभिभावकहरुलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो । त्यस्तै विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम र तेक्वान्दो प्रस्तुत गरेका थिए । कार्यक्रममा उत्कृष्ट शिक्षकलाई सम्मान गरिएको थियो भने विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
विद्यालयका सहायक प्रिन्सिपल महेन्द्र कुमार पोखरेलको स्वागत र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद नेपालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यार्थीद्वय अदिश नेपाल र मालिका छहरीले गरेका थिए ।














