पौष २५ पाल्पा
माघे संक्रान्ती २०७९ का अवसरमा पाल्पा तानसेनको कैलाशनगरमा मगरी खाजा एवम् बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
कैलाश बसन्त मगर समाजको आयोजना तथा मगर महिला संघ, पाल्पाको सह आयोजनामा यही पौष ३० गते शनिबार कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष शेर बहादुर सोमैले आईतबार तानसेनमा पत्रकार भेटघाटको आयोजना गरि जानकारी दिनुभयो । सोमैले कार्यक्रममा मगरी सांकृतिक कार्यक्रम र मगरी खाजालाई मुख्य प्राथमिकतामा राखिएको बताउनुभयो ।
कार्यक्रममा ठूलो नाँच (नचरी ), कौडा, ठाडो भाका झाम्रे संगै पाल्पाका ४ वटै कलाकेन्द्रहरुको बिशेष प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । समाजका सल्लाहकार बल बहादुर रानाका अनुसार मगरी खाजाको रुपमा सेलरोटी, बटुक, सखरखण्ड, तरुल, चाकु, सुगुरको मासुका बिभिन्न परिकारहरु, कुखुराको मासु लगाएतका १२ बढी परिकारका स्टलहरु रहने छन् । विहान ११ बजे देखि बेलुकी ५ बजे सम्म हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको समेत बिशेष प्रस्तुती रहने आयोजकहरुले जनाएका छन् ।













