पाल्पा – रिब्दिकोट गाउँपालिका गाउँसभाको १२ औ अधिवेशनको पहिलो बैठक बिहिवार देखि सुरु भएको छ ।
गाउँसभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नारायण बहादुर कार्कीले चालु आर्थिक वर्षका लागि तय भएका योजनाहरु समयमै सम्पन्न गर्ने तर्फ ध्यान दिने बताउनु भयो ।
कार्कीले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले अधिकतम समय योजना सम्पन्न गर्न र व्यवस्थित सेवा प्रवाह गर्न तर्फ ध्यान दिनुपर्ने बताउदै, चालु आर्थिक वर्षमा सम्पन्न गर्ने भनिएका सबै योजनाहरु चालु आर्थिक वर्षभित्रै पूरा गरी आउँदो वर्षमा नयाँ योजना, नयाँ शैली र नयाँ अभियानका साथ अघि बढ्ने वताउनु भयो ।
सभामा कार्यपालिका सदस्य सुनिल बस्यालले रिब्दीकोट गाउँपालिकाको खानेपानी तथा सरसफाई र स्वच्छता सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ पेश गर्नुभएको थियो । पेश भएको विधेयक माथि छलफल गरि छलफल अनुसार विधेयकमा आवश्यक संशोधन पेश गर्न चाहने सदस्यहरुका लागि ४८ घण्टाको समय तोकिएको छ । विधेयक छलफलका लागि विधायन समितिमा पठाउने निर्णय समेत सभाले गरेको हो ।
सभाको अर्को बैठक आगामी पौष महिनाको २४ गते आइतबार विहान १० बजे बस्ने सभाका सचिव तथा रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालले जानकारी दिनुभयो ।
सभामा विभिन्न समितिका संयोजकहरुले आफ्नो प्रस्तुतीकरण तथा प्रतिवेदन पेश गरेका हुन्। गाउँ सभा अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षतामा बैठक बसेको थियो । सभामा गाउँपालिकाका उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत पवन अर्याल, कार्यपालिकाका सदस्यहरु, वडा अध्यक्षहरु, वडा सदस्यहरु, स्थानीय, पत्रकार, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।













