पाल्पा – बिहेको भोज खाएपछि बिरामी हुनेको संख्या बढेको छ । गएको शनिबार बगनासकाली–१, चिर्तुङ्धारा स्थित दानबहादुर गाहाको छोरीको बिहे भोज खाएर बिरामी हुने मानिसको संख्या बढेर सय बढी पुगेको स्थानीय बासिन्दाको भनाई छ ।
गाउँमा सबैघरमा तीनरचार जना मानिस बिरामी भएको स्थानीय बासिन्दाले बताएका छन् । बिहेमा भोज खाएका सबैलाई झाडापखाला लाग्ने, वाकवाकी लाग्ने, ज्वरो आउने, पेट दुख्ने जस्ता समस्या देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणीराम अधिकारीले वताए ।
भोज खाएर बिरामी भएकालाई उपचार गर्न गाउँपालिकाले चिकित्सकको नेतृत्वमा स्वास्थ्यकर्मी परिचालन गरेको छ । पाल्पाको बगनासकाली–१, स्थित चिर्तुङधाराका बासिन्दा दानबहादुर गाहाको छोरीको बिहेमा भोज खाएर बिरामी परेकाको उपचारका लागि पालिकाले स्वास्थ्यकर्मी खटाएको हो ।
भोज खाएर बिरामी भएकाको पहिचान गर्न र उपचार गर्न एक जना चिकित्सकको नेतृत्वमा ११ जना स्वास्थ्यकर्मी खटाइएको गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले जानकारी गराइन् ।
बिरामी परेकामध्ये सोमबार र मङ्गलबार गरी १५ तानसेनस्थित मिसन अस्पतालमा भर्ना भएका छन् । सोमबार चार जना भर्ना भएकामा मङ्गलबार ११ जना बिरामीलाई भर्ना गरेर थपिएको उपचार गरिएको तानसेनस्थित मिसन अस्पतालका सूचना अधिकारी जीवन भट्टराईले जानकारी दिए । बिरामी परेकामा ‘फुड प्वाइजनिङ्’ को समस्या देखिएको भट्टराईले वताए।
भोजमा बटुक, पाडाको मासु, पुलाउ, आलु गोभीको तरकारी, मेवाको अचार, आलु र मुलाको अचार परिकार थियो । प्यूठानमासमेत भोजखाएर गएकाहरू जन्ती तथा बेहुला र बेहुली बिरामी परेका छन् । के कारणले उनीहरू बिरमी भए भन्ने बारेमा अहिलेसम्म पत्ता लाग्न नसकेको स्थानीय बासिन्दाको भनाई छ ।













