

विष्णुप्रसाद घिमिरे
पाल्पा, १६ मंसिर
पाल्पाको बगनासकाली गाउँपालिकामा बनाइने बगनासे साँचो लोप हुने अवस्था पुगेको छ । घरको सुरक्षा गर्नका लागि मानिसहरूले स्थानीय स्रोत, सीप तथा साधनको प्रयोग गरी बनाएको साँचो ऐतिहासिक मानिन्छ । बगनासकाली ९ चापपानीका टेक बहादुर विश्वकर्माले स्थानीय सामाग्रीहरुको प्रयोग गरेर साँचो (ताल्चा) बनाउन लागेको ५० वर्ष भयो । बगनासडाडाँका ८÷१० घर परिवारले बगनासे साँचो बनाउदै आएका थिए । उहाँका हजुरवुवादेखीको यो पेशा ७४ वर्षिय टेक बहादुरले एक्लै धानिरहनुभएको छ । ‘पहिला त सबैका घरमा बगनासे चापी हुन्थे, विदेशसम्म जान्थ्यो ।’ टेक बहादुर भन्नुहुन्छ, ‘बहुदल आएसंगै सबै सामानहरु विदेशबाट आउन थाले हामीले बनाएका चापी विक्दैनन् ।’
फलाम, पाइन, स्वाग र पित्तलको मिश्रणबाट स्थानीय औजारको प्रयोग गरी यो साँचो बनाइने गर्दछ । स्थानीय आरनमा फलाम तताएर पिटेपछी निश्चित आकारमा साँचो बनाइने गर्दछ । घरको ढोका, बाकस, दराज लगायतमा लगाइने साँचो वजारमा पाइने अन्य साँचोको तुलनामा वलियो मानिन्छ । स्थानीय कच्चा पदार्थको प्रयोगबाट बनाइने भएकोले आकारमा ठूलो हुने गर्दछ । यहाँ २०१० साल तीरबाट यो साँचो उत्पादन हुने गरेको इतिहास भेटिन्छ । स्थानीय चन्द्रवीर विश्वकर्मा लगायतले बगनासे साँचोको सुरुवात गरेका थिए ।
पुस्ता हस्तान्तरण एवम् संरक्षणको अभावले गर्दा अहिले लोपन्मुख हुने अवस्था पुगेको छ । बजारमा आधुनिक साँचो आउनु अगाडि प्रचुर मात्रामा बगनासे साँचोको बिक्री वितरण हुने गरे पनि पछिल्लो समयमा अन्य देशबाट आएका आयातित साँचोले गर्दा माग घट्न गएको टेक बहादुरको भनाई छ । ‘बैशमा एकै दिनमा ३ वटा सम्म बनाउन सकिन्थ्यो,।’ उहाँ भन्नुहुन्छ, ‘अहिले मुस्किलले एक दिनमा एउटा तयार गर्छु ।’ यहाँका ८÷१० घरमा स्थानीय आरन थिए । दैनिक ३० देखी ५० साँचोहरु उत्पादन हुने गर्दथे । यहाँका बराङ्गदी, खानिगाउँ, चापपानी, यम्घा, दर्लम देखी जिल्ला वाहिरसम्म साँचोहरु निर्यात हुने स्थानीय रवीलाल विश्वकर्मा बताउनुहुन्छ ।
यो साँचोको उत्पादनमा निरन्तरताका लागि यहाँको बगनासकाली गाउपालिकाले केही पहल गरेको भएपनि पर्याप्त देखिदैन् । गाउपालिकाका अध्यक्ष सरस्वती चिदीले पालिकाका सबै सरकारी कार्यालयले अनिवार्य प्रयोग गर्नुपर्ने नियम बसालिएको बताउनुभयो । चिदीका अनुसार गाउपालिकाले उत्पादन लागत घटाउन ग्रेण्डर, वेल्डिङ्ग मेसिन, घन लगायतका सामाग्रीहरु सहयोग गरेको छ ।
परम्परागत औजार र कच्चापदार्थको प्रयोगबाट बनाइने साँचो लोप हुने अवस्थामा पुगेको छ । यहाँका नयाँपुस्तामा सीप हस्तान्तरण हुन सकेको छैन् । नयाँ प्रविधिको प्रयोगबाट लागत मूल्य घटाउन र वजारीकरणमा ध्यान दिन स्थानीय तहको ध्यान जान सकेको छैन् । पाल्पामा परम्परागत सीप र प्रविधिको प्रयोगबाट पाल्पाली करुवा, माटाका भाँडा, फलामका औजारहरु उत्पादन हुदै आएका छन् ।