काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा अपेक्षा गरेभन्दा फरक नतिजा आएको बताएका छन्।
रौतहटको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले निर्वाचनमा आफूले सोचेको जस्तो नतिजा ल्याउन नसकिएको र नतिजाले आगामी दिनलाई शिक्षा दिएको बताए।
उनले आगामी दिनमा निर्वाचनको परिणामको मूल्याङन गर्दै भएका कमिकमजोरी सुधार गरी अघि बढ्ने धारणा राखे। उनले अबको सरकार कस्को बन्छ भनेर अहिले नै भन्न नसकिने भन्दै समयको माग अनुसार बन्न सक्ने बताएका हुन्।
अध्यक्ष नेपालले जनताले आफूलाई इमान्दारिता र निष्ठापूर्वक नै हेरेकाले चुनाव जित्न सफलभएको वताउदै जनताको विश्वासलाई टुट्न नदिने वताए । अध्यक्ष नेपालले ३३ हजार ५ सय २२ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार ९ सय २२ मत प्राप्त गरेका थिए।
यसअघि २०४८ देखि २०५६ सम्म राष्ट्रियसभा सदस्य तथा प्रमुख विपक्षी दलका नेता रहेका नेपाल २०५६, २०६५, २०७० र २०७४ मा पनि प्रतिनिधिसभा सदस्य थिए।












