पाल्पा,२६ कार्तिक
बाम गठबन्धनका साझा उम्मेदवार सोम प्रसाद पाण्डेयले पाल्पा जिल्लालाई शैक्षिक क्षेत्रको हब बनाउने बताउनुभएको छ । पाल्पा क्षेत्र नं. २ का प्रतिनीधिसभा सदस्यका उम्मेदवार पाण्डेयले अनलाइन शिक्षा, भर्चुअल कक्षा सञ्चालनका साथै पठनपाठनमा सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी उपयोग गर्न आवश्यक पूर्वाधारको विकाससहित विशेष कार्यक्रमहरु सञ्चालन गरी पाल्पालाई शैक्षिक क्षेत्रको हब बनाउने बताउनुभएको हो ।
ितनाउ गाउँपालिका वडा नं। ३ र ६ को घरदैलो गर्दै नेता पाण्डेयले शिक्षाको गुणस्तर कायम गर्न, सुधार गर्न तथा शिक्षण सिकाइ पद्धतिलाई व्यवस्थित बनाउन प्रादेशिक शिक्षा, नीति, कानुन, शैक्षिक योजना तर्जुमा गरि शैक्षिक संस्थाहरुमा इन्टरनेट सेवाको पहुँचलाई जोड्ने बताउनुभएको हो ।
नेता पाण्डेयले विद्यालय शिक्षामा गरिब, सीमान्तकृत, दलित तथा पिछडिएका समुदायका बालबालिकालाई गुणस्तरीय विद्यालय शिक्षाको पहुँच विस्तारका लागि शैक्षिक गुणस्तर सुधार कार्यक्रमलाई अभियानका रुपमा निरन्तरता दिने बताउनुभयो । पाल्पालाई पश्चिम क्षेत्रकै शैक्षिक हब बनाउन योजना बनाएर लाग्ने भन्दै नेता पाण्डेयले गरिब तथा जेहेन्दार विद्यार्थीहरुको अध्ययनका लागि प्रादेशिक आवासीय विद्यालय स्थापना गरिने बताउनुभयो ।
पाण्डेयले अनलाइन एजुकेसन तथा लिट्रेसी कार्यक्रमलाई निरन्तरता दिँदै शिक्षक तालिमलाई प्रविधिसँग आवद्ध गरी विद्यालयमा अनलाइन तथा अफलाइन पद्धतिमार्फत शिक्षक सिकाइका लागि आवश्यक पूर्वाधारको विकास गरिने बताउनुभयो । पाण्डेयले पाल्पाका विद्यार्थी गुणस्तरिय शिक्षाका लागी अन्यत्र जाने अवस्थाको अन्त्य गर्दै ७७ वटै जिल्लाबाट पाल्पा अध्ययन गर्न आउने वातावरण बनाउने बताउनुभयो ।
पाण्डेयले सञ्चालित प्राविधिक शिक्षालय र प्राविधिक धारका विद्यालयहरुबीच समन्वय तथा क्षमता विकास गरी प्रदेशका लागि आवश्यक सीपयुक्त दक्ष प्राविधिक जनशक्ति उत्पादन गरिने योजना अघि सार्ने बताउनुभयो । उच्च शिक्षालाई खोज तथा अनुसन्धानमूलक बनाउन र अध्ययन अनुसन्धानमा आधारित योजनावद्ध दिगो विकासका लागि एक प्रादेशिक अनुसन्धान केन्द्र स्थापनाको कार्य अगाडि बढाउने समेत पाण्डेयले बताउनुभयो ।












