पाल्पा । पाल्पा क्षेत्र नं २ का वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले माडी चक्रपथलाई व्यवसायिक र आर्थिक करिडोरका रुपमा विकास गर्ने बताएका छन् । यस अघि प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गरी पाल्पाको विकासमा उल्लेखीय काम गरेका गठबन्धनका उम्मेदवारहरुले शुक्रबार माथागढी गाउँपालिकाको चिदीपानीमा घरदैलो तथा सभामा बोल्दै माडी चक्रपथ आयोजनालाई सम्पन्न गरी व्यवसायिक र आर्थिक करिडोरका रुपमा विकास गर्ने बताउनुभएको हो ।
पाल्पा क्षेत्र नं। २ का प्रतिनिधि सभा उम्मेदवार सोम प्रसाद पाण्डेले आफू सांसद हुँदा तत्कालिन मन्त्रिपरिषद्को अध्यक्षलाई पेश गरेको माडी चक्रपथ आयोजनालाई सम्पन्न गरी त्यस क्षेत्रको जनताको विकासको लागि व्यवसायिक र आर्थिक करिडोरको रुपमा विकास गर्ने बताउनुभयो । पाण्डेयले तिनाउ खोलाले यस क्षेत्रमा वर्षेनी माडीका जनतालाई पीडित बनाएको भन्दै तिनाउ खोलाको रेखांकन गरी स्थायी टटबन्ध निर्माण गरिने समेत प्रतिवद्धता जनाउनुभयो । आफू पनि माडीकै बासिन्दा भएकाले माडी क्षेत्रमा जोडिएको मदनपोखरा, चिदीपानी, पोखराथोक, नायर, चिर्तुङ्गधारा, झडेवा, कसेनी, रुप्से लगायतका जनताको समस्या समाधानमा प्रतिवद्ध भएर लाग्ने पाण्डेले बताउनुभयो । उहाँले चिदीपानीको बुढीकोट, धैरनी, सातदोवाटो लगायतको क्षेत्रमा घरदैलो गर्दै यहाँको सडकको विस्तार, सिंचाई, खानेपानी, सडकको स्तरउन्नती लगायतको काम गर्ने समेत बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा ९२० १ का उम्मेदवार वीर बहादुर रानाले पनि माडी चक्र पथलाई व्यवसायिक र आर्थिक रुपमा जोड्ने गरी काम गर्ने बताउनुभयो । उहाँले चिदीपानी क्षेत्रका जनतालाई परेको मर्कामा आफू सदैव हातेमालो गर्न तयार रहेको भन्दै माडी ,चिदीपानी क्षेत्रको समग्र आर्थिक र पूर्वाधार विकासमा आफूले काम गर्ने प्रतिवद्धता जनाउनुभयो । जनताको आर्थिक समृद्धि र विकास गठबन्धन नेतृत्वको सरकारले मात्र गर्ने भन्दै त्यसको लागि वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन सबै मतदाताहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा गठबन्धन पाल्पाका संयोजक तथा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, नेताहरु राजनप्रसाद पन्त, सन्तोष कुमार थापा, राजेन्द्र गोपाल सिंह, झपेन्द्र गहिरे, शिव प्रसाद घिमिरे, माधव नेपाल लगायतले चिदीपानी र समग्र पाल्पा जिल्लाको विकासका लागि गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गर्नुभयो ।













