पाल्पा १८ कार्तिक
शुक्रबार हरिबोधनी एकादशीको अवसरमा पाल्पाका विभिन्न धार्मिक स्थल तथा नदि क्षेत्रमा भक्तजनले तोरण टाँगेर पूजापाठ गर्ने र नुहाउनेको भिड लागेको छ ।
हरेक वर्षको हरिवोधनी एकादशीको दिन विशेष गरि पाल्पाको रिडी ऋषिकेश मन्दिर , रिडीखोला, राम्दीधाम राम्दीनदीमा विशेष भक्तजनहरुको आज भिडलाग्ने गर्दछ ।
आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म सनातन धर्मावलम्बीले घरघरमा तुलसी रोपी विशेष पूजा आराधना गर्छन्। कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदर सँग विवाह र विशेष पूजा गरी मनाइने दिनलाई हरिबोधिनी एकादशी भनिन्छ ।
आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ। आजको दिनलाई तुलसीको विवाह पनि भन्ने गरिन्छ । हरि शयनी देखि हरि बोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन्।













