पाल्पा १४, कार्तिक
नेपालमै अनौठो मानिने पाल्पाको सत्यवती मेला यसबर्ष यहि १८ गते देखि लाग्ने भएको छ । बिगतका केही बर्ष कोभिडका कारण संचालन हुन नसकेको मेला यो बर्ष संचालन हुने र यसको तयारी भएको पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ । बिगतमा ३ दिन लाग्ने मेला यो बर्ष राम्रो जोग परेकोले ५ दिन लाग्ने समितिले जनाएको छ । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नं ४ मा रहेको धार्मिक पर्यटकीय स्थल सत्यवती मन्दिरमा कान कम सुन्ने बज्यै भएको बिश्वासमा चिच्याएर वर माग्ने गरिन्छ । यहाँ बाँसको लिगो लिएर आवाज निकाल्ने गरि चिच्याउदै वर माग्ने र सत्यवती मन्दिर परिषरको पोखरीमा लिगो गाडेर पुजा गर्ने चलन छ । सत्यवती मन्दिरमा प्रायः रातीको समयमा पुजा गर्ने प्रचलन छ ।
आगामी कार्तिक १८ गते एकादशीबाट २२ गते पुर्णिमा सम्म दर्शन गर्ने राम्रो जोग परेको सत्यवति मन्दिर ताल संरक्षण विकास समितिका अध्यक्ष दान बहादुर गाहाले जानकारी दिनुभयो । यो बेलाको पुजा विशेष हुने भएकाले पनि मेलाको महत्व छ। परापूर्वकालमा यहाँ एक बज्यै उत्पत्ति भएको र ती बज्यै संग एक युवाले मनोकाक्षा मागेको बज्यैले कसैलाई नसुनाए फल पाउने र सुनाए उसको मृत्यु हुने वचन दिएकोमा ती युवाले घर फर्किए लगत्तै सुनाउदा उनको मृत्यु भएकोले कसैलाई नभन्ने र बज्यैलाई चिच्याएर वर माग्ने चलन बसेको स्थानीयको भनाई छ । परापुर्व कालमा सत्यवति बजैले कुभिण्डोको भाडामा पिउने पानी लिएर हिडेको र सोही क्रममा यहा विश्राम गर्दा पोखिएर बनेको पोखरी पनि कुभिण्डो आकारकै बनेको किम्बदन्ती छ ।
धार्मिक तथा एतिहासिक महत्व बोकेको सत्यवती मेलामा दर्शन गर्न र भाकल अनुसार पुजा गर्न आउनेको घुइचो लाग्ने गर्दछ। पाल्पा जिल्ला सहित छिमेकी जिल्लाहरुका विभिन्न स्थान र भारतको सुनौली,नौतुना,गोरखपुर लगायतका क्षेत्रबाट भक्तजन आउने गर्दछन् । जिल्लाको गहनाका रुपमा स्थापित सत्यवति मन्दिरले देशभित्रमात्र नभई छिमेकी भारतमा समेत ख्याति कमाएको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । सहज तरिकाबाट पर्यटक भित्र्याउन स्थानिय सरकार लागि पर्ने बताउदै श्रेष्ठले मन्दिर दर्शन गर्न चाहने शारिरिक अशक्तता भएका दर्शनार्थीलाई सवारीमा पुग्ने ब्यवस्था गरिने जानकारी दिनुभयो । २४ माइल र झुम्सा पानीमिलबाट पुग्ने सडक मर्मत र खोलामा कजबेको ब्यवस्था गर्ने तयारी गरेको पालिकाले एकतर्फी बाटो खोल्ने जनाएको छ।
मन्दिर व्यबस्थापनमा समिति र पालिकाले जोड दिएको छ । मन्दिर पुग्ने सडक मर्मत, मन्दिरमा पिउनेपानी, ट्वाईलेटको थप ब्यवस्थापन गरेको छ। मन्दिरको डिपिआर अनुसार पुर्वाधार विकासको काम थालिएको छ । यस बर्ष डेढ लाख दर्शनार्थी आउने र सो अवधिमा ६ लाख रुपैया भेटि उठ्ने अनुमान गरिएको मन्दिर व्यबस्थापन समिति अध्यक्ष गाहाले बताउनुभयो । मन्दिरमा करीब १ सय ५० बढि स्टलहरु राखिने र मादक पदार्थ विक्रि वितरण र सेवन निषेध गरिने भएको छ । मेला अवधिभर २४ माईल देखि झुम्सा सम्मको सडकमा हुने सवारी चाप ब्यवस्थापनमा जोड दिने तिनाउ वडा नं ४ का वडाध्यक्ष तुल बहादुर आलेले बताउनुभयो ।











